महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
बैशाख १३, २०८१ बिहिबार
ओखलढुंगा– सुनकोशी गाउँपालिका–९, कटुञ्जेको ककनीमा भर्खरै खनिएको कच्ची सडकसहितको पाखो बगेपछि तामाङ समुदायका १४ घर उच्च जोखिममा परेका छन् ।
पहिरोसँगै खसेको लेदो घर आँगनमा आएपछि घर जोखिममा परेका हुन् ।
अविरल वर्षाका कारण गाउँमाथि रहेको जोराल डाँडा खसेर खोलो थुनिएपछि मकै तथा आलु लगाइएको बारीसमेत कटान गरिरहेको छ ।
सडक खन्दा निस्केको माटो र पहिरो एकसाथ खसेपछि बाढी आउँदा सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गर्नुका साथै १४ घर जोखिममा परेपछि विस्थापित भएको स्थानीय बासिन्दा कर्ण बहादुर तामाङले बताउनुभयो ।
त्यस क्षेत्रमा प्रहरीको टोली पुगे पनि जोखिममा परेकालाई स्थानान्तरण गरिएको छैन । स्थानान्तरण नगरे मानवीय क्षति हुनसक्ने अवस्था छ ।
जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा टहरा हालेर बस्न त्रिपाल पठाइएको गाउँपालिकाले जनाएको छ ।
गएको जेठमा गाँउमाथिबाट नवलपुरघाट–दुधकुण्ड सडकको ट्रयाक खनिएको थियो । पहाडको बाटो भएर ट्रयाक खनिएकाले पहिरो गएको स्थानीयको भनाइ छ ।
खोला कटान र पहिरोका कारण कर्णबहादुर तामाङ, सुवाससिङ तामाङ, लाक्पा तामाङ, पूर्णबहादुर तामाङ, हर्कबहादुर तामाङ र डम्बर बहादुर तामाङको घर उच्च जोखिममा परेको हो ।
त्यस्तै, रत्न बहादुर तामाङ, धनमाया तामाङ, पेमामाया तामाङ, दमाई तामाङ, चिनिमाया तामाङ, जोते तामाङ, जानुुमाया तामाङ, पेमामाया तामाङ र पदममाया तामाङको घर जोखिममा परेको स्थानीयले बताएका छन् ।
बस्तीभन्दा माथि नयाँ सडकको ट्रयाक खनिएकाले पहिरो गएको सुनकोशी गाउँपालिका–९ का वडा अध्यक्ष जनक कार्कीले जानकारी दिनुभयो ।
पहिरो केही स्थानीयको घरको जगसम्मै आइपुगेको बताइएको छ ।
जोखिममा परेका स्थानीयले सुरक्षित स्थानमा बसोबारको व्यवस्था मिलाउन माग गरेका छन् ।
पहाड खसेर खोला थुनिएकाले खोला आसपासका स्थानमा पहिरो जाने त्रास फैलिएको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्धप्रसाद अधिकारीले बताउनुभयो ।