आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि बाबुले छोरीलाई सल्फास खुवाए, आफूले पनि गरे आत्महत्या

 असोज ६, २०७६ सोमबार १६:४८:३७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि कैलालीमा बाबुले छोरीको हत्यासँगै आत्महत्या गरेका छन् । 

गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले छोरीलाई सल्फास सेवन गराएर आफूले पनि आत्महत्या गरेका हुन् । उनले तीन वर्षीय छोरी अनुष्कालाई सल्फास खुवाएपछि आफैले पनि खाएका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार गएको वैशाख १६ गते रामबहादुरकी श्रीमती सरिता कलेलले कोठामै झुण्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो । 

सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका थिए । गएको जेठ २६ गते जिल्ला अदालत कैलालीले रामबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । साउन २२ गते अदालतले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए । 

अपराध संहिता लागू भएपछि कैलालीमा आत्महत्या दुरुत्साहनमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । एक वर्षको अवधिमा कैलालीमा आत्महत्या दुरुत्साहनको १४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एक जना साधारण तारेखमा छुटेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया