प्रियंका र आयुष्मानले गरे सुटुक्क इन्गेजमेन्ट

 असार ३१, २०७५ आइतबार १३:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाडौं – आफूभन्दा ७ वर्ष कान्छासँग प्रेम गरेका कारण अभिनेत्री प्रियंका कार्कीले धेरैको आलोचना खेपिन् ।

तर उनले अरुको कुरालाई बेवास्ता गर्दै आफ्नो प्रेमलाई सहि दिशातर्फ लाने सोचमा अघि बढिन् । डेढ वर्षअघि एक अवार्ड कार्यक्रममा अभिनेता आयुष्मान देशराज जोशीले नै प्रियंका आफ्नो प्रेमिका भएको कुरा सार्वजनिक गरेका थिए । त्यसअघि प्रियंकाले भने यस विषयमा सोधिएका प्रश्नहरुको जवाफ दिन नचाहने बताउँथिन् ।

उक्त अवार्ड कार्यक्रममा प्रियंकाले वर्षको उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन् भने आयुष्मानले सिनेमा ‘‘चपली हाईट २’ बाट बेस्ट डेब्यू नायकको अवार्ड पाएका थिए । यही खुशीमा उनीहरुले सार्वजनिक रुपमै एकअर्कालाई अगांल्दै चुम्बन पनि गरेका थिए । त्यही समयदेखि उनीहरुको प्रेमले चर्चामा पाएको थियो ।

आफूभन्दा कान्छासँग प्रेम गरेका कारण उनीहरुको सम्बन्ध धेरै अगाडि नजाने धेरैको अनुमान थियो । तर अरुको अनुमान विपरित प्रियंकाले आयुष्मानसँग विवाह गर्ने निर्णय लिएकी छिन् ।

यी दुईले शनिबार मात्रै इन्गेजमेन्ट गरेका छन् । शनिबार टिकाटालो भएपछि प्रियंकाले सामाजिक सञ्जालमार्फत आफूले विवाह गर्ने निर्णय लिएको कुरा सार्वजनिक गरेकी हुन् । इन्गेजमेन्टका तस्बिरहरु सेयर गर्दै उनले अब आफूहरु सधै एक हुने निर्णय लिएको र आफ्नो थर पनि परिवर्तन हुने उल्लेख गरेकी छिन् । प्रियंकाले बिहेको मिति भने सार्वजनिक गरेकी छैनन् ।

–उज्यालाे गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया