घाँस दाउराले भविष्य बन्दैन भन्दै साउदी गएका विष्णु बेखबर

 असार ३१, २०७५ आइतबार १४:१८:३२ | सन्जिता देवकोटा

खोटाङ – घाँस दाउरा गरेर भविष्य बन्दैन भन्दै साउदी गएका विष्णु राना मगरले घरमा सञ्चो बिसञ्चोको खबर नपठाएको झण्डै ५ वर्ष भयो । यी ५ वर्षमा विष्णुकी श्रीमती मिनाकुमारीले निकै हैरानी खेप्नुपर्‍यो । जिन्दगीका घामपानी एक्लै सहनुपर्‍यो । 

डाँडामाथिका घामजस्तै भएका बावुआमालाई छोराको खबर नपाएर अत्यास लागिसक्यो । आउने बाटो हेर्दाहेर्दै आँखा थाकिसके । तर विष्णुको अत्तोपत्तो छैन । 
२०७० असारमा विष्णु साउदी जाँदा कान्छो छोरा ६ महिनाको मात्रै थिए । दुई छोरा भने काम सघाउन सक्ने भएका थिए । कान्छो छोरो स्कुल जाने भइसक्यो । बेलाबेला बुवा खै भनेर सोधिरहन्छ ।

‘घाँसदाउरा र मेलापात गरेर कति बस्नु मलाई विदेश जाने रहर छ भन्नुहुन्थ्यो खाली, रहरले नै शहर पुर्‍यायो, त्यही भएर होला गाउँ फर्किनु भएन,’ मिनाकुमारीले विरक्त मान्दै भन्नुभयो ।

साउदी जानुअघि विष्णु गाउँमा घाँसदाउरा गर्नुहुन्थ्यो । उहाँले काटेको घाँस खाएर भैंसी अघायो, तर भैंसीको दूधले विष्णुको पैसा कमाउने मन अघाएन । घाँसदाउरा गर्दा पनि चुलो पनि बलेकै थियो, तर यतिले मात्र मन खुशीले बलेन ।

विष्णु साउदी जानुअघि काठमाडौं आवतजावत गरिरहनुहुन्थ्यो । घरी विदेश जाने मेलोमेसो मिलाउँछु भन्नुहुन्थ्यो, त घरी काम पनि गरेर फर्किनुहुन्थ्यो । २०७० असार ३० मा विदेश जाने रहर पूरा गर्नुभयो । तर उहाँले विदेश जाने बेलामा मिनाकुमारीसँग साटेका सपना भने पूरा गर्न सक्नुभएन । 

अन्तिमपटक फोनमा भएको कुराकानीले झन् अन्योल

श्रीमानलाई विदेश पठाउन मन थिएन मिनाकुमारीलाई । तर ‘घाँस दाउरा गरे छोराछोरीको भविष्य बन्दैन’ भनेर बिष्णुले कर गरेपछि मुख बन्द भयो । नजाउनु भन्न सक्नुभएन । 

साउदी गएपछि विष्णुले त्यो सालको दसैँमा १३ हजार रुपैयाँ खर्च पठाउनुभयो । ‘दसैँ त मनाइयो, तर त्यो दसैँ नै अन्तिम रहेछ श्रीमानको कमाइले मनाउन, मंसिरदेखि त मान्छे नै हराउनुभयो, के को पैसा के को दसँै,’ मिनाकुमारी सम्झनुहुन्छ । 

त्यही वर्षको मंसिर २४ गते विष्णु र मिनाकुमारीबीच भएको कुराकानी नै अन्तिम बन्यो । फोन राख्ने बेला विष्णुले भनेका कुरा अहिले सम्झँदा मिनाकुमारीलाई श्रीमानले माया मारे भन्ने लाग्छ ।

‘भागेर काम गर्नुपर्‍यो दुईचार वर्ष हराउनुपर्‍यो भन्नुभयो, त्यसपछि त यतिका वर्ष बित्दा पनि न फोन आयो, न त मान्छे,’ श्रीमानले भनेको त्यो कुरा सम्झँदा मिनाकुमारीको मन अहिले पनि अमिलो हुन्छ । 

घरपरिवारको अवस्था सुधार्ने, छोराहरुको भविष्य बनाउने भन्ने सपना बाँडेर हिँडेका श्रीमानले जानीजानी फोन नगरेको हो कि भनेर मिनाकुमारीलाई रीस पनि उठ्छ । ठूला सपना बोकेर ठूलो देश पुगेपछि श्रीमानले आफू र छोराछोरीलाई बिर्सिएको जस्तो लाग्छ उहाँलाई ।

‘ठूला देशमा ठूलै कुरा होला, उहाँले त विदेश पुगेर बिर्सिहाल्नुभयो, अब म त त्यसरी उहाँलाई बिर्सन सक्दिन, सँगै बाँच्ने मर्ने कसम खाएको हो,’ मिनाकुमारीका आँखा रसाए । 

‘विदेशमा के होला ? जसले घरपरिवार र आफ्ना सन्तानलाई भुलाउँछ,’ विदेश पुगेको पाँच महिनामै आफ्नो श्रीमान हराउनुको कारण जान्नु छ मिनाकुमारीलाई । 

पाँच महिनामा १३ हजार रुपैयाँ पठाएका श्रीमान् अहिले कसरी बसेका छन् भन्ने मिनाकुमारी जान्नुहुन्न । तर श्रीमानको कमाइबिना पनि उहाँले पाँच वर्ष घरव्यवहार धानिसक्नुभएको छ । 

कमाइ नहुँदा, घरव्यवहार चलाउन कति अप्ठेरो पर्‍यो मिनाकुमारीलाई । एकातिर श्रीमानको खबर नआउँदाको पीडा, अर्कातिर बालबच्चाको पढाइ र घरव्यवहार । पैसाकै कारण खेपेका अप्ठेरा सम्झिँदा मिनाकुमारीलाई पनि श्रीमान् बेखबर भएकै देशमा जान मन थियो । कमाउन मन थियो । तर नाता सम्बन्ध र छोराहरु छोडेर उहाँ हिँड्न सक्नुभएन । 

‘मनमा त सबै छाडेर जाउँ, खोजौं, कमाउ भन्ने त कति लाग्यो लाग्यो, बाउले पनि माया मारेका छोराहरु र यत्रो नाता सम्बन्धलाई तोडेर हिँड्न सकिन, उसले जस्तै गर्न सकिन,’ मिनाकुमारीले पीडा पोख्नुभयोे । 

उहाँले थप्नुभयो ‘गाउँमा मसँग नै झगडा भएर फोन नगरेको होला भन्छन्, तर त्यस्तो केही भएकै थिएन, मैले सल्लाहले नै पठाएको हो, अनि विदेशबाट पनि फोन गर्नुहुन्थ्यो ।’ सबै कुरा राम्रो हुँदाहुँदै पनि श्रीमानले किन यतिका वर्ष बित्दा घरमा खबर गरेनन् भन्नेबारे मिनाकुमारी नै बेखबर हुनुहुन्छ । 

बुढा बुवाआमालाई पीडामाथि पीडा

विष्णुका बुवा भोजबहादुर ६१ वर्षको हुनुभयो । १० सन्तानका पिता भोजबहादुरलाई जेठो छोरा विदेशमा हराएदेखि नै आफ्नो भाग्यको साइत बिग्रियो जस्तो लाग्छ । 

‘गाउँतिर ठिक छैन क्यारे उतै मर्‍यो कि क्या हो भन्छन्, धामीले त फेरि केटोलाई काम गर्दा चोट लागेका छ भने,’ भोजबहादुर भन्नुहुन्छ, ‘मलाई त त्यस्तो लाग्दैन, मरेकै भएपनि हाम्रो लागि जिउँदै छ ।’

छोराको पिरले उहाँको भोक तिर्खा हराएको छ । आँखा चिम्म नगरी कयौं रात बितेका छन् । गएको वर्षको चैतमा कान्छो छोराले आत्महत्या गरे । कमाउन गएको जेठो छोरो पनि मरे बाँचेको खबर छैन । ‘कान्छोले पनि किन त्यसो गर्‍यो किन ? जेठोको पनि अवस्था यस्तो छ, खै भाग्यकै खेला त होला नि’ भोजबहादुरले पर हेरेर खुइय गर्नुभयो । 

‘अर्काको देशमा त्यसले भोक लाग्यो भन्न पनि पाएन होला, न भाषा मिल्छ, हामीलाई बिर्सिए पनि सुखैले त बसेको छैन होला नि’ भोजबहादुरले भन्नुभयो ।

 छोराको हालखबर थाहा पाउन नसकेर गलेकी आमा चिनीमाया जेठो छोराको कुरा गर्दा निकैबेर टोलाउनुभयो । र, भन्नुभयो, ‘छन त छ रे भन्छन् धेरैले, खै किन हो फोन गर्दैन ।’

विदेश जाने बेलामा विष्णुले आमासँग खुशीले नै बिदा माग्नुभएको थियो । ‘गएँ है आमा भन्यो, नजाउ त भन्न भएन, छिट्टै आएस् भनेर आशीर्वाद दिएको, उतै हराउ है भनेझैँ भयो,’ चिनीमायाले आँशु पुछ्नुभयो । 

‘आमाबुवाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढा माथि’ भन्ने उखान आफ्नै जीवनमा मिल्यो भन्नुहुन्छ, चिनीमाया । एउटा सन्तानको आत्महत्या र अर्को सन्तानको बेखबरले उहाँलाई बुढेसकालमा मरी जानु न गरी खानु भएको छ । 

कान्छो छोराले आत्महत्या गरेपछि बुढा बावुआमालाई जेठो छोरो विष्णुकै सहारा चाहिएको छ । सायद विष्णुलाई त भाइले संसार छाडेको पनि खबर छैन होला । परिवार भने विष्णुकै खबरको प्रतिक्षामा छन् । विष्णुको कान्छो छोराले आफ्नो बुवालाई फोटोमा बाहेक चिन्न पाएकै छैनन् । 

बिष्णु साउदी गएपछि घरमा निकै कुरा फेरिए । बाख्रा, कुखुरा र बंगुर पालेर भए पनि मिनाकुमारीले घरव्यवहार चलाउनुभयो । छोराहरु पढाउनुभयो । तर दुई छोराले बीचैमा पढाइ छाडिसके । उनीहरु पनि बुवाले समाएकै बाटो समात्ने तरखरमा छन् । 

विष्णुका कान्छो भाइले संसार छाडिसके । माइलो विदेशमा सुखदुःख गर्दैछन् । चिन्ताले बुवाआमा गलिसके । बुढेसकालमा पनि सुखको सास फेर्न पाइएन भनेर गुनासो गर्नुहुन्छ, चिनीमाया ।

खुशी लिएर छोरो फर्किएला भनेर आशमा बस्नुभएकी आमा चिनीमाया भन्नुहुन्छ, ‘भाइ पनि के शोकले मरिहाल्यो, तिमी किन रिसायौ बाबु ? तिमीलाई हाम्रो माया किन लागेन ।’

खोज्न पनि समस्या

साना छोराहरु र घरव्यवहारको जिम्मेवारी बोकेकी मिनाकुमारी न घर छोडेर हिँड्न सक्नुभयो, न हराएका श्रीमानलाई खोज्न नै सक्नुभयो । 

भाइहरुले भिनाजुको खोजीका लागि दिदीलाई सघाए । ‘पत्रिकाबाट खोज्न लगाएको रे, खै भाइहरुले भिनाजु साउदीमै हुनुहुन्छ रे भनेका थिए, कहाँ छन् कहाँ,’ मिनाकुमारी भन्नुहुन्छ, ‘म कहाँ गएर खोज्नु ?’

मिनाकुमारीले विष्णुको खोजीका लागि सुरक्षित आप्रवासन परियोजना अन्तर्गत खोटाङमा रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको छ । तर उहाँसँग श्रीमान विदेश जाँदाको कुनै प्रमाण छैन । 

‘मसँग भएको त यो फोटो मात्र हो, त्योबाहेक मलाई केही थाहा छैन,’ मिनाकुमारीले भन्नुभयो । बुवा भोजबहादुरलाई विष्णुलाई साउदी उडाउने एजेन्टको नाम रमेश बस्नेत हो जस्तो लाग्छ । तर उनी पनि कहाँका हुन्, कुन म्यानपावरमा आवद्ध छन् केही पनि जानकारी छैन । 

फोटो मात्र भएकाले विष्णुलाई खोज्न समस्या भएको नवीकरण सेवा समाजद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका सामाजिक परिचालक तारानाथ फुयाँलले बताउनुभयो ।

रोजगारीका लागि साउदी गएको जानकारी भएपनि परिवारलाई विष्णु काम गर्न कम्पनी, पासपोर्ट नम्बर, पठाउने म्यानपावर र एजेन्टको बारेमा जानकारी नहुँदा खोजीमा समस्या भएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया