पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको ज्यान गयो

 असोज १५, २०७६ बुधबार १९:५६:३९ | भावुक योगी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बर्दिया - पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एक जना महिलाको ज्यान गएको छ ।

बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणमा परि बाँसगढी नगरपालिका २ राँझाकी ४० वर्षीया गंगा सलामी मगरको बुधबार बेलुका ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

‘बाघले मृतकको हात र घाँटीमा हानेको गम्भीर घाउ देखिन्छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

एक साताअघि भगवती सामुदियक वनमा घाँस काटन गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उहाँको उपचार भैरहेको निकुञ्जले जनाएको छ ।

मंगलबार दिउँसो पाटे बाघले एउटा गोरु र ८ वटा बाख्रा समेत मारेको स्थानीयले जनाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । निकुञ्ज भित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानिवासी त्रसित बनेका छन् ।

बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएपछि बाघ हिंस्रक भएको हुन सक्ने भन्दै निकुञ्ज प्रशासनले क्यामरा ट्रयापिङ प्रविधिसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गर्ने जनाएको छ । त्यो बाघ नियन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो ।

७ महिनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणमा परि हालसम्म ५ जनाको ज्यान गएको छ । यसअघि गेरुवा गाउँपालिकाको दङ्गपुर र ठाकुरबाबा नगरपालिकाको भुरिगाउँमा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको पाटे बाघले आक्रमण गर्दा दुई जनाको ज्यान गएको थियो ।

यसैगरी बढैयाताल गाउँपालिकाको मैनापोखरमा नेपाल तथा भारतीय जंगलबाट र राजापुर क्षेत्रमा भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि दुई जनाको ज्यान गएको थियो ।

पाटे बाघको आतंक बढिरहेको भन्दै बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्रका सामुदायिक वनभित्र घाँसदाउरा लिन जंगलभित्र प्रवेश नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया