गाेलकीपर लाेरिस र सुवासिच: काे अब्बल ?

 असार ३१, २०७५ आइतबार १७:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुस विश्वकप अन्तर्गत आज राति नेपाली समय अनुसार पौने नौ बजे लुज्निकी स्टेडियममा फ्रान्स र क्रोएसियाबीच उपाधि भिडन्त हुँदैछ ।

केलियन एमबाप्पे र लुका मोड्रिच हेडलाइन बनिरहेका छन् । 

तर यस बीचमा दुई सुपर स्टारहरु छन् जसले चुपचाप आफ्नो काम गरिरहेका छन् । ती हुन् फ्रान्सका गाेलकीपर ह्युगो लोरिस र क्रोएसियाका गाेलकीपर डेनिएल सुवासिच ।

दुवै आ–आफ्नो भूमिकामा निपुण छन् । आफ्नो टिमलाइ फाइनलसम्म पुर्‍याउन उनीहरुले गोलपोस्टमा शानदार पहरेदारी गरे । 

उनीहरुले निर्णायक खेलहरुमा चामत्कारिक बचाउ गरेका छन् ।

ह्युगो लोरिस (फ्रान्स)

फ्रान्सले लामो समयदेखि खोजेको एकरुपता ह्युगो लोरिसको नेतृत्वमा पाएको छ । 

सन् २००९ देखि पहिलो रोजाइका गाेलकीपर बनेका उनले एक दशकदेखिको लामो अनुभव बटुलेका छन् । 

बेल्जियम विरुद्धको खेलसँगै उनले राष्ट्रिय टिमबाट १०३ क्याप जिते । 

क्रोएसियाविरुद्धको खेलबाट लोरिस फ्रान्स टिमबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । यसो हुँदा उनले अहिलेका प्रशिक्षक डिडियर डेसच्याम्पलाई पछि पार्नेछन् । 

अहिलेसम्म डेसच्याम्पले फ्रान्सका लागि १०३ खेल खेलेका छन् । 

३१ वर्षको उमेरमा लोरिस आफ्नो गोलकीपिङ करियरको प्राइम टाइममा छन ।

यो विश्वकपमा उनको कौशलमा गिरावट र प्रदर्शनमा बढ्दो उमेरको झल्को कतै देखिएको छैन । उनको महत्व एक राम्रो गोलकिपरका रुपमा मात्र छैन । उनी डेसच्याम्पका विश्वास पनि हुन् ।

त्यस्तै फ्रान्सका कप्तानका रुपमा सवैभन्दा धेरै ( ७९) खेल खेल्ने कीर्तिमान पनि उनको नाउँमा छ । 

उनी रुस विश्वकपमा अहिलेसम्म फ्रेन्च टिमका एक वास्तविक नायक हुन् । उनले पेरु, उरुग्वे र बेल्जियमविरुद्धको अति महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रुसमा उनले विपक्षीको धेरै प्रहार बचाएका छन् । तर तीमध्ये उरुग्वेविरुद्ध उनले शानदार बचाउ गरेका थिए । पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा खेल तनावग्रस्त बनिरहेको थियो । फ्रान्स मात्र १–० ले अघि थियो । 

त्यही बेला उरुग्वेका मार्टिन सेसर्सले पउल पोग्बालाइ छल्दै बल अगाडि बढाए ।

उनले सोचेभन्दा धेरै सशक्त हेडर प्रहार गरे । तर त्यो प्रहारलाइ लोरिसले  अविश्वसनीय रुपमा बचाउ गर्दै आफ्नो टिमलाइ  गोल खानबाट जोगाए ।

खेलपछि डेसच्याम्पले भने इट्स नट अ सेभ, इट्स अलमस्ट अ गोल

डेनिएल सुवासिच (क्रोएसिया)

सुवासिचले रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रोएसिया कठिन समूहमा रहेको थियो । समूह डीमा  क्रोएसियासँगै अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरिया थिए । 

तर क्रोएसियाले सबै खेलमा जित हात पार्दा एक गोल मात्र खाएको थियो । क्रोएसियाको सफलतामा सुवासिचको भूमिका सामान्य छैन । पेनाल्टी सुटआउटको कथा अर्कै छ । 

क्रोएसियाले प्रिक्वार्टर फाइनलमा डेनमार्कलाइ पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । क्वार्टरफाइनलमा रुसलाइ पेनाल्टीमै ४–३ ले पराजित गर्‍यो ।

सुवासिच विश्वकपमा चार वा चार भन्दा बढी पेनाल्टी सुटआउट बचाउने दोस्रो गोलकिपर बने । उनले आफुलाई हस्तीका रुपमा स्थापित गर्दैे अपार सम्मान पनि पाए ।
सुवासिचले डेनमार्कविरुद्ध तीन पेनाल्टी बचाउ गर्दैे आफ्नो प्रतिभा देखाएका थिए । डेनमार्कका तीन खेलाडीको पेनाल्टी उनले फरक फरक तरिकाले बचाउ गरेका थिए । 
रुसविरुद्ध पनि उनको प्रदर्शन अद्भूत नै रह्यो । क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनल पुर्‍याउन सुवासिचको प्रदर्शन महत्वपूर्ण  रह्यो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया