जिल्ला अदालत सल्यानमा झण्डै ४० प्रतिशत सम्बन्ध विच्छेदका मुद्धा

 असार ३१, २०७५ आइतबार १८:३४:३० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – जिल्ला अदालत सल्यानमा झण्डै ४० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेको देखिएको छ  ।

जिल्ला अदालत सल्यानमा यसवर्ष परेका मुद्धाहरुमा झण्डै ४० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा जिल्ला अदालतमा दायर ३ सय ४५ मुद्दा मध्ये २ सय ७१ थान मुद्दा फर्छ्यौट भएको छ ।

जसमा सम्बन्ध बिच्छेद मात्रका मुद्दा १०१ थान र अंशसहित सम्बन्ध विच्छेदका मुद्दा ३२ थान गरी जम्मा १ सय ३३ थान मुद्दा रहेका छन् । कुल मुद्दाको ३८.५५५ मुद्दा सम्बन्ध विच्छेदका रहेको र प्रत्येक वर्ष सम्बन्ध विच्छेद गर्नेहरुको संख्यामा वृद्धि भइरहेको जिल्ला न्यायधीश मदनबहादुर धामीले बताउनुभयो । 

जिल्ला न्यायधीश धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीहरुले सबैभन्दा बढी सम्बन्ध विच्छेदको निवेदन दिने गरेका छन् । ‘सम्बन्ध विच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौं तर उनीहरु सहमतिमै सम्बन्ध बिच्छेद गर्न आउने भएकोले हाम्रो कुरा सुन्न चाहान्नन,’ जिल्ला न्यायधीश धामीले भन्नुभयो । सम्बन्ध बिच्छेद गर्न आउने ५० प्रतिशतभन्दा बढी उमेरका अभिभावकका बालबच्चा हुने र तिनीहरुको भविष्य अन्यौलमा पर्ने गरेको न्यायाधीश धामीले बताउनुभयो ।

७४ वटा मुद्दा भने फर्छयोट हुन बाँकी रहेका छन् । गएको सालको तुलनामा यस वर्ष कार्यलयले बढी मुद्दा फर्छयोट गरेको जनाएको छ । ‘सम्बन्ध विच्छेद गर्दा आमासँगको बच्चालाई बावुले पाल्ने भन्ने कुरा हुन्छ, पछि के हुन्छ थाहा हुँदैन’, उहाँले भन्नुभयोे, ‘यसले गर्दा बालबच्चाको लालनपालनका समेत समया आउने गर्छ ।’

यही दरले सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै जाने हो भने बालबालिकाहरु बाबुआमासँग–सँगै बस्न र उनीहरुको माया पाउनबाट बञ्चित हुने सम्भावना बढ्दै गएको महिला मानवअधिकारकर्मी इन्सेक प्रतिनिधि मिना बुढाथोकीले बताउनुभयो । ‘यसप्रकारको सामाजिक समस्यालाई निराकरण गर्नेतर्फ सम्बन्धित सरोकारवालाहरुको समयमा नै ध्यान पुग्नु जरुरी छ’, बुढाथोकीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया