डाक्टर केसीलाई भेट्न समर्थकको भीड : सरकारले चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित

 असार ३१, २०७५ आइतबार १९:२७:३० | नेत्र शाही
unn.prixa.net

जुम्ला – अनसन बसेको १६ औं दिन डाक्टर गोविन्द केसीको स्वास्थ्य रक्षाको कामना गर्दै भेट्न आउनेको भीड लाग्न थालेको छ ।

पटक–पटक अनसन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्थादेखि अनुहार हेर्न स्थानीय महिला–ज्येष्ठ नागरिक र समर्थकहरुको भीड लाग्न थालेको छ । 
कर्णाली प्रतिष्ठानको सुरक्षित कोठामा रहेका डाक्टर केसीलाई अहिलेसम्म भेटेर फर्किने करिब ८ सय जनाले हाजिर गरेका छन् ।

तर हाजिर नगरेर भेट्ने पनि धेरै भएको अस्पतालले जनाएको छ । केसीको स्वास्थ्य अवस्थाकोबारे जानकारी लिएकाहरुले केसीको जीवन रक्षा र सरकारले चाल्ने कदममा चासो देखाउने गरेका छन् । उनीहरुले केसीको माग सरकारले चाँडो पूरा गर्नुपर्ने माग गरेका छन् ।

चन्दननाथ नगरपालिका ३ का ४५ वर्षीया सुकसरी नेपालीले रुँदै भन्नुभयो, ‘तपाईँको जीवन रक्षाको भगवनासँग कामना गरिरहेका छौं । काठमाडौंमा महंगो तिरेर पढ्ने बाध्यता हटाएर सरकारले चाँडै प्रतिष्ठानमा सौहुलियतमा डाक्टर पढ्न पाउने हाम्रा दिन आएमा तपाईँलाई अझै धेरै सम्झिरहनेछौं ।’  केसीलाई भेट्न आएका जुम्ला हिमा गाउँपालिका–१, का गोपाल शाहीले सरकारले किन ढिलाई गरेको होला भन्दै आक्रोश पोख्नुभयो ।

यस्तै केसीको स्वास्थ्य अवस्था वुझ्नका लागि कर्णाली प्रदेशदेखि विभिन्न जिल्लाका समर्थकहरु आइरहेका छन् । विशेषगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको मागलाई समेत सरकारले सम्बोधन नगरेको, संसदमा कर्णाली प्रतिष्ठानलाई चासो नदिइएको भन्दै यहाँका समर्थक, नागरिक समाज स्थानीयहरु आक्रोशित हुँदै आएका छन् । 

घाटीको संक्रमण जेलिँदै  

डाक्टर केसीको अनसन समय लामो पुगेपछि संक्रमण सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आइतबार निकालेको स्वास्थ्य प्रतिवेदनमा विगत २४ घण्टादेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वास बढेको छ । एन्टिबायोटिक लिन नमानेका कारण घाटीको संक्रमण कम हुन सकेको छैन ।

उपचारमा खटिएका डा. पूजन रोकाया, सिदार्थ खाती र धीरज गुरुङलगायतका चिकित्सकहरुले निकालेको प्रतिवेदनमा नसाहरु समेत सुनिएर समस्या भएको छ । यसैगरी मासु बाउडिने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने भइरहेको बताइएको छ । 

माग पूरा गर्नुपर्ने भन्दै प्रदर्शन :

डाक्टर केसीका मागहरु पूरा गर्नुपर्ने भन्दै नेपाल  विद्यार्थी संघले प्रदर्शन गरेको छ । जुम्ला बजारमा गरेको प्रदर्शनमा नेविसंघ केन्द्रीय उपसभापति रामप्रसाद अधिकारी र महामंन्त्री कुन्दनराज काफ्ले समेत जुम्ला पुगेर समर्थनमा आन्दोलित भएका हुन् । नेविसंघले डाक्टर केसीका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने समेत बताएको छ ।

यसैगरी नागरिक समाज जुम्लाले समेत डाक्टर केसीका माग पूरा गर्नुपर्ने भन्दै  प्रदर्शन गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया