समयमा तलब नपाउँदा सोनमा गाँउपालिकाका शिक्षकहरुको दशैँ खल्लो

 असोज १९, २०७६ आइतबार १७:१६:२३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - गाउँपालिकाको कार्यालयले समयमै तलब नखुवाउँदा सोनमा गाँउपालिकामा कार्यरत शिक्षकहरुको दशैँ खल्लो भएको छ ।

गाउँपालिकामा कार्यरत शिक्षकहरुले समयमा तलब पाउनुपर्ने माग राख्दै गाँउपालिकाका अध्यक्ष राजकुमार यादवलाई पहिले नै ज्ञापन पत्रसमेत बुझाइसकेको तर गाउँपालिकाले आश्वासन पूरा नगरेको नेपाल शिक्षक महासंघ सोनमाका अध्यक्ष रमेश कुमार यादवले बताउनुभयाे ।

 यस सम्बन्धमा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख राजकुमार साहले बजेट निकासामा अलि ढिलाइ भएकाले सबैलाई तलब खुवाउन नसकिएको जानकारी दिनुभयाे ।

गाउँपालिकाको कार्यालयले परिषदमा पेश गरेको आर्थिक वर्ष २०७६। ०७७ को बजेट योजना ढिलो गरी पारित भएकाले समयमै खातामा पैसा राख्न नसकिएको गाँउपालिकाका प्रवक्ता अशोक कुमार यादवले बताउनुभयाे ।

दशैँमा पैसा नपाए पनि दशैँ सकिएलगत्तै कर्मचारीहरुको खातामा पैसा जम्मा गर्न बिदाको समयमा पनि कर्मचारीलाई खटाइएकाे गाँउपालिकाका प्रवक्ता यादवले जानकारी दिनुभयाे ।  

सोनमा गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयमा १ सय ४६ शिक्षक कार्यरत रहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया