मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

 असोज २३, २०७६ बिहिबार ८:४५:३९ | रासस
unn.prixa.net

चितवन – मनकामना केबलकार सेवा बिहीबारदेखि पुनः सञ्चालनमा  आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो ।

बडादशैँको समयमा हरेक वर्ष झैं यो वर्ष पनि असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा बिहीबारदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन)रहेको छ । केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ भीड नै लाग्ने गर्दछ । दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका ओसार्ने गरेको छ ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया