भोजमा अचार खाँदा ३१ जना बिरामी

 असोज २३, २०७६ बिहिबार ९:१०:५४ | रासस
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । 

स्थानीयवासीन्दा रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् । 

स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताउनुभयो । बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ । 

बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

माया नर्सिङ होमका डा. कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताउनुभयो । ‘अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ’ उहाँले भन्नुभयो, ‘फुड प्वाइजन को अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया