टी-२० सिरिज: नेपाललाई ६ विकेटले पराजित गर्दै ओमान तालिकाकाे शीर्ष स्थानमा

 असोज २३, २०७६ बिहिबार १८:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देश सम्मिलित टी-२० क्रिकेट शृंखलामा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ६५ रनको सामान्य लक्ष्य घरेलु टाेली ओमानले ११ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका करन केसीले दुई तथा सोमपाल कामी र सन्दिप लामिछानले एक-एक विकेट लिए पनि नेपालको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा अलआउट हुँदै जम्मा ६४ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सबैभन्दा धेरै २० रन बनाए । यस्तै दिपेन्द्रसिंह ऐरीले ११, सोमपाल कामी र करण केसीले ८-८, कप्तान पारस खड्काले ५, विनोद भण्डारीले ४, तथा इशान पाण्डे, अविनाश बाेहरा र सन्दिप लामिछानले २-२ रन बनाए । सन्दिप जोराले खाता नै खोल्न सकेनन् ।

 

शृंखलामा नेपालले ४ खेलमध्ये २ खेल मात्रै जित्यो । तालिकामा नेपालले ४ अंकसहित तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ । सबै खेल जितेको ओमान तालिकाको शीर्ष स्थानमा छ । बिहीबारै भएको खेलमा आयरल्याण्डले हङकङलाई हराएर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया