​वडा अध्यक्षको सिफारिसमा भारतीय नागरिकले पाए नेपाली नागरिकता

 जेठ ८, २०७५ मंगलबार २०:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ, जेठ ८ – रंगेलीमा बसेर मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक भारतीयसँग नेपाली नागरिकता रहेको पाइएको छ ।

भारत कुर्सकुट्टा डोवाबडी १३ घर भई रंगेली नगरपालिका–८, दर्बेसामा रहेको ठूलोबुवाको घरमा बस्दै आएका मुजफ्फर हुसैनले नेपाली नागरिकता प्रमाणपत्र बनाएको पाइएको छ ।उनले वडा अध्यक्षको संलग्नतामा नेपाली नागरिकताको प्रमाणपत्र बनाएको श्रोतले जनाएको छ ।

हुसैनले रंगेली नगरपालिका–८, दर्बेसाबाट आफ्नो ठूलोबुवा अबहुल सकर मियाँको छोरा अनावारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएको रहस्य खुलेको हो ।
भारतको सन् २०१८ को विधानसभा र लोकसभा निर्वाचनको मतदाता नामावलीमा नाम रहेका मुजफ्फर हुसैनले रंगेली नगरपालिका–८, का वडाअध्यक्ष ढकप्रसाद आचार्यको सिफारिसमा राजा मियाँ नामबाट नागरिकता बनाएका पाइएको हो । 

बिहार राज्यले सन् २०१८ जनवरी १० तारिखमा प्रकाशित गरेको निर्वाचन नामावलीमा हुसेनको यु.एक्स.बि.१३८०५१८ नम्बरको निर्वाचन मतदाता परिचयपत्र रहेको छ । ३० वर्षका उनको परिचयपत्रमा उनको बाबुको नाम मोहम्मद हासिम उल्लेख रहेको छ । हासिम भारतमा नै बस्दै आएका छन् ।

उनले अररिया जिल्ला अन्तरगत सिक्टी विधानसभा र लोकसभा  निर्वाचनका लागि कुर्सकट्टा प्रखण्ड अन्तरगत उत्क्रमित मध्यविद्यालय डौवाबाडी मतदान केन्द्रमा मतदान गर्ने गरेको पाईएको छ ।

हुसैनले इलाका प्रशासन कार्यालय रंगेलीबाट ०५०२७४÷०४७६२ नम्बरको नागरिकता प्रमाणपत्र लिएका छन् । २०७४ साल माघ १७ गते नेपाली नागरिकता लिएका हुसैनले  उनले आफ्नो जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख गरेका छन् । हुसैनले आफ्नो नागरिकतामा आफ्नो ठूलोबुवाको छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएका हुन् । आनाबारुल मियाँ अहिले दिल्लीमा बस्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीबवावु खड्काका अनुसार हुसैनमाथि झुठा विवरण पेश गरी नेपाली नागरिकता बनाएको उजुरी परेको  त्यस सम्बन्धमा छानविन भैरहेको बताए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया