फिफा विश्वकप छनोट : नेपाल जाेर्डनसँग ३-० ले पराजित

 असोज २९, २०७६ बुधबार ६:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल जाेर्डनसँग ३-० ले पराजित भएकाे छ ।

जोर्डनको अम्मान रंगशालामा पहिलो हाफमा नेपालले उत्कृष्ट खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भएको थियाे । बल पोसेसनमामाथि रहेको जोर्डनले चार वटा सुन्दर मौका पाए पनि गोल गर्न सकेन ।

फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । अष्ट्रेलियाविरुद्धको खेलमा तीन जना खेलाडी परिवर्तन गरेको नेपाल सुरुवात देखि नै डिफेन्सिभ देखिएको थियो । जसमा नेपाल पहिलो हाफमा सफल पनि भएको हो ।

पहिलो हाफको अन्तिममा जोर्डनले नेपालको पोष्टमा झन आक्रमण गरे पनि किरण चेम्जोङले निकै राम्रो बचाउ गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमा नै जोर्डनले चार वटा प्रहार गरेको थियो । जसमा यासीनले दुई वटा मौका गुमाए भने एकपटक फैसलको प्रहार बाहिरीयो ।

५४ औं मिनेटमा फैसलको एक्रोबेटिक सट पनि पोस्ट नजिकैबाट बाहिरियो । ५५ औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरे पनि जोर्डनले पेनाल्टी पायो । जसलाई फेरहास जायदले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

७५ औं मिनेटमा अञ्जन विष्टले डिबक्स बाहिरबाट गरेको प्रहारलाई जोर्डनका गोलकिपर अमिर साफीले बचाए ।

७८ औं मिनेटमा जोर्डनले अन्तर २–० मा पुर्‍यायो । उसका लागि अहमेद अल इर्सानले गोल गर्न सफल भए । उनले लेफ्ट साइडबाट गरेको प्रहारलाई किरण चेम्जोङले बचाउन सकेनन् ।

२ गोलको अग्रता बनाएको जोर्डनले त्यसपछि पनि आफ्ना आक्रमणलाई कायमै राख्यो । त्यसपछि उसले अरु तीन वटा सुन्दर मौका पाएको थियो । ८७ औं मिनेटमा नेपालले तेस्रो गोल खायो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै फैसलले हेडमार्फत गोल गरे ।

जितसँगै जाेर्डनले तीन खेलमा सात ‌अङ्क बनाएकाे छ । उसले तीनमा २ जित र एक बराबरी खेलेकाे छ । नेपालकाे चार खेलमा ३ अङ्क छ । नेपालले चार खेलमा तीन हार र एक जित निकालेकाे छ ।

विश्वकप छनोट अन्तर्गत नै २०११ मा भएको घरेलु मैदानको खेलमा जोर्डनले नेपाललाई ९–० ले हराएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया