वुमन्स च्याम्पियन्स लिग: ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङसँगै विराटनगर टाइटन्सकाे जित

 असोज ३०, २०७६ बिहिबार १७:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङकाे मदतले विराटनगर टाइटन्सले काठमाण्डाैमा जारी वुमन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्सलाई ६ विकेटले हराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनाएकाे थियाे । खराब सुरुवात गरेको ललितपुले चार रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ४७ रन बनाउँदा उसले ५ विकेट खेर फालेको थियो । उसका माथिल्लो क्रमको ब्याटिङ  खराब रह्याे । रोशनी बोहरा नौ रनमा आउट भइन् भने सरिता मगरले एक तथा कप्तान नेरी थापाले ४ र शान्ती चौधरीले नौ रनको योगदान गरिन् ।

उसका लागि ममता चौधरीले सर्वाधिक २८ रन बनाउँदा करुणा भण्डारीले २१ रन जोडिन् । अन्तिममा कृति शेन र सम्झना खड्काले अलिक राम्रो खेलेपछि ललितपुरले मध्यम लक्ष्य दिन सफल भयो । कृति र सम्झनाले समान १३–१३ रन बनाएका थिए ।

जवाफमा विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । विराटनगरका लागि ज्योति पाण्डेले अर्धसतक बनाइन ।

उनले विराटनगरका तर्फबाट पहिलो विकेटका लागि सोनु खड्कासँग ८३ रनको साझेदारी गर्न सफल भइन् जुन यो प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो ।

उनले ४३ बलमा १० चौका र एक छक्काको मद्दतले ६५ रन बनाइन् । बलियो सुरुवात गरे पनि विराटनगरले बीचमा चार विकेट सस्तैमा गुमायो । लक्ष्मी चौधरी शून्य रनमा आउट भइन् भने कप्तान सिता मगरले खाता नै खोल्न सकिनन् ।

यो जितसँगै विराटनगरले पहिलो खेलमा नै दुई अंक जोड्न सफल भएको छ । प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया