अदालतमा धरौटी बुझाएलगत्तै फेरि पक्राउ परे विप्लव समूहका कास्की सेक्रेटरीसहित ४ जना

 कात्तिक १, २०७६ शुक्रबार १६:२४:० | सन्तोष थापा
unn.prixa.net

पर्वत – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुनः नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका २ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर जिल्ला भोजपुर नगरपालिका १२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका ६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई कात्तिक १ गते अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको हो ।

प्रहरी हिरासतमा रहेका चारै जना नेकपाका कार्यकर्तालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही ५ हजार धरौटी बुझाउने गरी रिहा गर्ने आदेश दिएको थियो । आदेशअनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए । कात्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाइसकेपछि प्रहरीले पुनः पक्राउ गरेको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै  जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११, उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठक बसिरहरेको बेला नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।

नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले बिन पक्राउ पुर्जी कानुनी राज्यको उपहास गरी आफूहरुलाई पटक पटक नियन्त्रणमा लिएको भन्दै विरोध गरेका थिए । अदालत परिसरमा नै पत्रकार सम्मेलन गरी उनीहरुले राज्यले गैरकानुनी रुपमा आफूहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी भण्डारीले आरोप लगाए ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया