भारत र टर्कीबीच तनाव बढ्यो, मोदीको भ्रमण रद्द

 कात्तिक ३, २०७६ आइतबार ११:३५:३६ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक रिपोर्टकाअनुसार कश्मीरमा टर्कीले देखाएको व्यवहारका कारण भारतले यो फैसला गरेको बताइएको छ । 

गएको महिना २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको आमसभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दाेआनले जम्मू–कश्मीरबाट धारा ३७० हटाइएको बारेमा मुद्दा उठाएका थिए । 

यस वर्षको गएको जुन महिनामा प्रधानमन्त्री मोदी र टर्कीका राष्ट्रपति अर्दाेआनबीच भएको भेटवार्तामा यो वर्षको अन्त्यसम्ममा प्रधानमन्त्री मोदी टर्की जाने कार्यक्रम रहेको थियो । 

यी दुई देशबीचको सम्बन्धमा चिसो आउनुको कारण टर्कीले कश्मीर र वित्तीय कारबाही कार्य बल (एफएटीएफ) मा पाकिस्तानको समर्थन जनाउनु नै हो । 
टर्कीले उत्तरी सिरियामा कुर्दमाथि आक्रमण सुरु गरेपछि भारतले टर्कीको आलोचना गर्दै सम्प्रभुताको सम्मान हुनुपर्ने बताएको थियो । 

भारतीय अखबार ‘द हिन्दू’का अनुसार भारतले टर्कीको अनादोलु शिपयार्डले भारतमा जहाज बनाउने सम्झौता पनि रद्द गरेको छ । अखबारले भारतको विदेश मन्त्रालयसँग प्रधानमन्त्री मोदीको टर्की भ्रमणका बारेमा बुझ्दा मन्त्रालयले कुनै भ्रमणको योजना नभएको बताएको थियो । 

तर भारतका लागि टर्कीका राजदूत साकिर ओजकानले भारतीय प्रधानमन्त्री अंकारा आउनेमा टर्की सरकार विश्वस्त रहेको जनाएका छन् । उनले कश्मीरमा चीनले पनि भारतको आलोचना गरेको र चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमण भएको बताए । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया