चिकित्सक भन्दछन : डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर

 असार ३२, २०७५ सोमबार १८:४७:३४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – १७ दिनदेखि जुम्लामा अनसनरत रहेका डाक्टर गोविन्द केसीको अवस्था जटिल हुँदै गएको छ ।

डाक्टर केसीको १५ औं सत्याग्रह अवधि बढ्दै जाँदा उहाँको स्वास्थ्य दिन प्रतिदिन गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुको प्रतिवेदनले सेप्सिसको उच्च जोखिममा रहँदै आउनु भएका डाक्टर केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ । 

आइतबार रातको २ बजे आसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न कठिन भएपछि मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो ।

 

प्रतिवेदन अनुसार आइतबार रातिबाटै डाक्टर केसीको इसीजी जाँचमा एक्टोपिक बिट्सहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजन रोकायासहितको उपचारमा खटिएको टिमले रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भई यस किसिमका एक्टोपिक बिट्सहरु देखिएको बताएका छन् ।  यसैगरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत रहेको विज्ञेप्तिमा उल्लेख छ ।  

आईसीयूका लागि रिफर आवश्यक : 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपलब्ध स्रोत साधन र जनशक्तिहरुबाट सम्पूर्ण उपचार भइरहेको भएता पनि सेप्सिस वा मुटुका अन्य समस्याले आइसीयू चाहिने परिस्थिति आएमा सुविधा सम्पन्न सेन्टरमा रिफर गर्नु पर्ने चिकित्सकहरुको प्रतिवेदनले जनाएको छ । यसैगरी डाक्टर केसीले एन्टिबायोटिक्स लिन अस्वीकार गर्नु भएका कारण घाँटीको संक्रमण ठिक भएको छैन ।

यसैगरी केसीको मागप्रति समर्थन जनाउँदै  महिलाहरु सडकमा उत्रिएका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले बेवास्था गरेको भन्दै आन्दोलनमा होमिन परेको द्वन्द्वपीडित महिला संघ जुम्लाकी अध्यक्ष हरि महतले बताउनुभयो । यसैगरी केसीको मागप्रति अनसनको सुरुदेखि एक्येबद्धता जनाउँदै जुम्लाका नागरिक समाजले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सरकार डाक्टर गोविन्द केसीको मागप्रति कठोर बन्न नहुने भदै राज्य कठोर भएकाले केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएको आरोप लागउनुभयो । नागरिक समाजले जीवन रक्षासहित माग सम्बोधनका लागि तत्काल वार्ता टोली गठन गरी प्रक्रिया अगाडि बढाउनु पर्ने बताएको छ ।  यस्तै नागरिक समाजले हस्ताक्षर गरिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई बुझाएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया