काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ

 कात्तिक ६, २०७६ बुधबार १९:३३:२३ | देव पचभैया
unn.prixa.net

पाल्पा - काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ परेका छन् ।

तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चुन्नबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले पक्राउ गरेको हो । विष्टले गएको आइतबार स्थानीय मनबिर नेपालीलाई जातीय गालीगलौच गर्दै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

बुधबार दिउँसो पक्राउ परेका विष्टमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत पाल्पाबाट ८ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । ५१ वर्षीय नेपालीले वडा सदस्य विष्टको गोठमा गारो लगाउने काम गरेबापतको पारिश्रमिक माग्न जाँदा उल्टै कुटपिट गरेको भन्दै प्रहरीमा निवेदन दिनुभएको थियो ।

विष्टमाथि जातीय छुवाछुत तथा भेदभावअन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पक्राउ परेका विष्टले पहिले नेपालीले आफूमाथि हातपात गरेपछि प्रतिकार मात्रै गरेको प्रतिक्रिया दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया