विश्व विजेता फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च सम्मान !

 असार ३२, २०७५ सोमबार २२:२०:४१ | एजेन्सी

विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च पदक लिजन दी अनरबाट सम्मानित गरिने भएको छ ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित गरिने जानकारी दिइएको हो । 

आइतबार राति मस्कोमा भएको फाइनलमा क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकपको उपाधि उचालेको हो । 

विश्वकप ट्रफीसहित घर फर्किएको फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थलमा भव्य स्वागत गरिएको छ । खेलाडी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा परेडसहित सम्मान गरिने भएको छ ।  

फुटबल प्रशंसकले आइतबार रातभर जितको खुशीयाली मनाएका थिए । केही ठाउँमा हिंसात्मक घटना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । 

केही ठाउँमा छिटफुट घटना घटे पनि पूरै देशले विजयोत्सव मनाइरहेको छ । पेरिसको एउटा ट्रान्सपोर्ट कम्पनीले देशले विश्वकप जितेको उपलक्ष्यमा केही स्टेसन खेलाडीहरुको नाममा परिवर्तन गर्ने जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया