सरकार सही दिशामा छ, अब नागरिकले विकास र समृद्धिकाे अनुभूति गर्न पाउँछन् : मन्त्री महासेठ

 कात्तिक ९, २०७६ शनिबार २०:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा रहेकोले अब परिणाम देखिने बताउनुभएको छ । उहाँले अब नागरिकले देखिनेगरी विकास र समृद्धिको अनुभूति गर्न पाउने दावी गर्नुभयो ।  

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री महासेठले भन्नुभयो, ‘०७४/०७५ लाई आधार वर्षको रुपमा लियौँ, २०७५/०७६ लाई योजना वर्षको रुपमा लिएर अघि बढेका हौँ । यो सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेका छौँ ।’

मन्त्री महासेठले वर्तमान सरकारले बिस्तारै–बिस्तारै गति लिएको विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार प्लानिङ गरेअनुसार पूर्वाधार र विकासको क्षेत्रमा अगाडि बढिरहेको छ । आर्थिक वृद्धिद्धर बलियो भैरहेको छ । अहिले शान्ति, सुरक्षाको स्थिति देशभरि व्यवस्थित भएको छ ।’ साथै उहाँले सरकार नेपाल भ्रमण वर्ष–२०२० को तयारीमा जुटिसकेको बताउनुभयो । 

मन्त्री महासेठले विकास र समृद्धिको यात्रामा पनि वर्तमान सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको कुरा दोहोर्‍याउनुभयो ।

उहाँले भन्नुभयो, ‘मिडियामा मैले हेरेको थिएँ, सडकको क्षेत्रमा खासै प्रगति भएन भनिएको छ, तर म भन्छु धेरै प्रगति भएको छ । पूर्वाधार विकासमा सरकार लक्ष्यभन्दा अघि नै छ । एक वर्षमा एक हजार किलोमिटर सडक बनायौँ । स्वभाविक रुपमा हामीले धेरै आलोचना सुन्नुपरेको छ । यो सडक यसरी दुई दिनमै बिग्रियो भनेर कुरा आउँछ, हामी तुरुन्तै एक्शन लिन्छौँ । हामीले देशभरि ८ मिटरभन्दा बढीका सडक हेरिरहेका छौँ । त्योभन्दा मुनिको सडक प्रदेश सरकार, महानगरपालिकाहरुले बनाइरहेका छन् ।’ 

काठमाण्डौ उपत्यकाको सडक भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको फोटोहरु पनि सार्वजनिक गर्ने गरिएकोमा उहाँले गुनासो पोख्नुभयो । उहाँले सबै राजमार्गको काम युद्धस्तरमा भैरहेको दावी गर्नुभयो । 

रेलमा पनि आफूहरुले लक्ष्यअनुसार काम गरिरहेको उहाँको दावी छ । ‘पूर्व–पश्चिम रेलमार्ग निर्माणको पनि काम सन्तोषजनक छ । सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा नै हामीले काठमाण्डौ–केरुङ रेलमार्गमा एमओयू गरेका थियौँ । त्यसमा नेपाल सरकारले के–के उपलब्ध गर्ने र चिनियाँ सरकारले के–के गर्ने भन्नेबारे प्रष्ट रुपमा लेखिएको छ । अहिले हामी चरणबद्ध रुपमा प्राविधिक काम गर्दैछौँ । त्यस्तै काठमाण्डौ–वीरगञ्ज रेलमार्गको लागि पनि त्यहीअनुसार काम भैरहेको छ । रेलवे निर्माण काममा पनि हामी लक्ष्यभन्दा पछाडि छैनौँ ।’ 

मन्त्री महासेठले ७७ ओटै जिल्लामा सरकारको कामको नतिजा देखिएको सुनाउनुभयो । उहाँले पहिले केही काममा बाधा र अड्चन भएकाे भए पनि अहिले हटेकाे बताउँदै काम गर्नेलाई पुरस्कार र खराब गर्नेलाई कारबाही गरिरहेका बताउनुभयाे । उहाँका अनुसार भर्खरै १५/२० ओटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गरिएकाे छ ।

मन्त्री महासेठले काठमाण्डौ उपत्यकाका सडकलाई माघअघि नै व्यवस्थित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे। 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया