आईपीएलमा कोलकाता र राजस्थानको टक्कर

 जेठ ९, २०७५ बुधबार १३:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ९ –  जारी आईपीएल क्रिकेट प्रतियोगिताको इलिमिनेटरमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दैछन् ।

तालिकामा कोलकाताले तेस्रो स्थान र राजस्थान चौथो स्थानमा रहँदै प्ले अफमा पुगेका हुन् ।

आजको विजेताले पहिलो प्लेअफमा पराजित हुने टिम फाइनल प्रवेशकालागि सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । तीव्र गतिका बलरहरुको बाहुल्यता रहेको कोलकाताले अक्सनबाट लिएका सर्वोत्कृष्ट खेलाडी मैदानमा उतार्नेछ । 

तुलनात्मक रुपमा सस्तो टिम कोलकाताका लागि मिचेल स्टार्क महत्वपूर्ण बलर रहन सक्नेछन् । कोलकातालाई उसको गृहमैदान र घरेलु दर्शकको साथ पनि रहनेछ । 

पहिलो संस्करणको विजेता राजस्थान दुई बर्षको प्रतिबन्धपछि पुनः यो संस्करणमा  फर्किएको हो । दुईवटा संस्करणमा उसले आफ्नो सहभागिता गुमाए पनि यो संस्करणमा उसको टिममा विश्वका उत्कृष्ट खेलाडीले भरिएको छ ।

लिगका खेलमा राजस्थानमाथि कोलकाताले दुबै खेलमा जित हात पारेको थियो । जयपुरमा भएको खेलमा नितिस रानाले अलराउण्ड प्रदर्शन गरेपछि कोलकाताले सात विकेटको जित हात परेको थियो  भने इडेन गार्डेनमा भएको दोस्रो भेटमा क्रिश लिन र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनमा कोलकाताले दुई ओभर बाँकी रहँदै जित हात पार्न सफल भयो ।

गृह मैदानको साथ कोलकाताका लागि सबैभन्दा ठूलो पक्ष हुनेछ । कोलकाता र राजस्थानवीच अहिलेसम्म भएका १७ खेलमध्य नौ खेलमा राजस्थान विजयी भएको छ भने आठ खेल कोलकाताको पक्षमा गएको छ । तर इडेन गार्डेनमा भएको ६ खेलमा राजस्थानले एकमा मात्र जित हात पार्न सकेको छ । 

कोलकाताका भरपर्दा ब्याट्सम्यान दिनेश कार्तिक टी–२० मा पाँच हजार रनबाट ३६ रनले टाढा छन् । सन्जु सामसन पनि तीन हजार रनबाट ३९ रन टाढा छन् । त्यसैले आज उनीहरुले टिमसँगै आफ्नै रेकर्डका लागि पनि मेहनत गर्नेछन् । 

पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका अलराउण्डर सुनिल नराइन राजस्थानको टाउको दुखाइको विषय हुन सक्छन् ।

ओपनिङमा आउने सुनिलको पावर प्लेको स्ट्राइक रेट (१९८.४) निकै माथि छ । उनले पावरप्लेमा सामना गरेको १२७ बलबाट २५२ रन बनाइसकेका छन् । सन् २०१२ र २०१४ को च्याम्पियन कोलकाता तेस्रो उपाधि हात पार्दै प्रतियोगिताकै सर्वाधिक सफल टिमको सुचिमा मुम्बई इण्डियन्ससँग बराबरी गर्ने लक्ष्यमा छ । 

यो सिजन कोलकाताले १४ खेलमध्ये आठमा जित र ६ मा पराजित हुँदै १६ अंक बनाएको थियो भने राजस्थानले सात जित र सात हारका साथ १४ अंक बनाएको थियो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया