स्वादिलो मार्सी भातमा खल्लो राजनीति

 साउन १, २०७५ मंगलबार १०:२६:५३ | मिलन तिमिल्सिना
unn.prixa.net

आफ्नै देशमा फल्ने मार्सी चामलको भात चाख्न पाउने नेपाली निकै कम छन् । तर हिजोआज बजारमा मार्सी चामल सोधीखोजी गर्ने नेपालीको संख्या बढेको छ । मार्सी धान फल्ने ठाउँ जुम्लामा पुगेर डा. गोविन्द केसीले अनसन थालेपछि जुम्लाको हिमाली हावापानीमा फलेको मार्सी धान र राणा प्रधानमन्त्रीहरुले खाने मार्सी धानको भात एकाएक चर्चाको विषय भएको छ ।  

त्यसअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएपछि मार्सी धानको भात र काँसको थाल चर्चामा थियो । जुम्लामा पुगेर डा. केसीले अनसन थालेपछि अनसनको राजनीति र मेडिकल कलेज सम्बन्धनको राजनीतिको केन्द्रमा मार्सी धानको भात चढेको छ । 

प्रधानमन्त्री र प्रचण्डलाई व्यंग्य गर्दै बालुवाटारमा मार्सी चामल बुझाउने, मार्सी चामलको भात खाएको तस्बिर राखेर फेसबुकमा रमाइलो गर्ने प्रवृत्ति पनि सँगसँगै अघि बढिरहेको छ । 

तर मार्सी चामलको भात खाने र भात खायो भनेर व्यंग्य गर्ने दुवैथरीले यस धानको महत्व बुझने फुर्सद पाएका छैनन् । पहिलेदेखि नै चामलमा राजनीति गर्दै आएकाहरुले मार्सी चामल र भातलाई बिम्व बनाएर रमाइलो मात्रै गरिरहेका छन् ।

थोरै उत्पादन हुने, पोषिलो र स्वादिलो हुने भएकाले राणा शासनका बेला श्री ३ को भान्सामा मार्सी चामलको भात पाक्थ्यो । त्यही बेलादेखि मार्सी धानको भात धनी र ठूलाहरुले मात्र खाने भोजनको रुपमा चिनियो । तर पछि जुम्ला बाहेक अन्त पनि मार्सी फलाउन थालियो । अरुले पनि खान पाए । 

तर अरु चामलभन्दा मार्सी चामलको भाउ महंगो छ । किलोको झण्डै दुईसय ५० रुपैयाँ पर्छ । त्यसैले धनीहरुले मात्र नियमित रुपमा यो भात खान सक्ने हैसियत राख्छन् । राणा प्रधानमन्त्रीले खाने भात अहिलेका प्रधानमन्त्रीले काँसका थालमा राणाकालिन शैलीमै खाएको फोटो सार्वजनिक भएपछि मार्सीको चर्चा चुलिएको हो । अहिले त मार्सी धानको चामलको भात विम्ब नै भैसक्यो । तर, मार्सी धान मास्न गरिएको राजनीति कसैका नजरमा परेको छैन । 

चिसो हावापानी हुने हिमाली भेगको तल्लो भाग र उच्च पहाडमा मात्र जुम्ली मार्सी धानको खेती हुन्छ । तर मार्सी चामलको खेती हुने ठाउँ जुम्लामा बाहिरबाट चामल पठाएर पहिलेदेखि नै चामल राजनीति थालियो । मार्सी धान लगायत रैथाने बालीलाई विस्थापन गर्ने गरी सेतो चामल पठाएर नेताहरुले भोट ताने । मार्सी चामलको भात चाख्ने र खानेहरुलाई पनि यसको उत्पादन बढाउनुपर्छ भन्ने लागेन । अनि फलानोले मार्सी भात खायो रे भनेर रोइलो गर्नेहरुलाई पनि यसको महत्व र विशेषता बुझ्ने फुर्सद मिलेको छैन ।

मार्सी धान र राजनीति

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । 

यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रंगको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । 

उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको हो । त्यसैले धनीहरुको भान्सामा बेलाबेला मार्सी चामलको भात पाक्छ । अनि यस्तै रोग पालेर बसेका नेताहरुलाई पनि व्यवसायीले बेलाबेला मार्सी चामलको भात चखाएर राजनीतिक लाभ लिन खोज्छन् ।

त्यसो त मार्सी चामलमा राणा शासनदेखि नै राजनीति सुरु भएको मानिन्छ । जानकारहरुका अनुसार राणाकालमा हरेक दिन एकमाना मार्सी धानकोे चामल जुम्लाबाट काठमाडौ मगाइन्थ्यो । हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौंको दरबारसम्म पुर्याउँथे । 

जुम्लाको कालीमार्सी स्वादिलो र पोषिलो हुने भएकाले दरबारको सुख सयलमा हुर्किएकाहरुलाई मन त पर्ने नै भयो । त्यसमाथि जुम्लाबाट चामलसँगै त्यस आसपासका हालखबर पनि दरबारसम्म पुग्थ्यो । सञ्चारको भरपर्दो माध्यम नभएको त्यो बेला जुम्ला र आसपासका ठाउँमा के हुँदैछ भन्ने जानकारी चामल बोकेर आउने मान्छेसँग लिने गरिन्थ्यो ।

स्वाद र सञ्चार दुवै थाहा पाउन मार्सी चामलमा त्यहीबेलादेखि राजनीति सुरु भएको थियो । पछि चामल पठाउन त छाडियो, तर भिन्न तरिकाले चामलमा भाते राजनीति हुर्कंदै आयो । 

पछिल्लोपटक ओली र प्रचण्डलाई मार्सी भात खुवाएर मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक लाभ लिन खोजेका हुन् भन्ने चर्चा छ । त्यसो त मार्सी धान फल्ने जुम्लामै भएको डा. गोविन्द केसीको अनसनले पनि मार्सी धानलाई भन्दा भातको राजनीतिलाई नै फस्टाउन मलजल गरेको छ ।

राजनीति होइन, खेती बढाउ

हिजोआज जुम्ली मार्सी लगायत रैथाने धानको खेती घट्न थालेको छ । कृषि विज्ञका अनुसार जम्मा चार प्रतिशत मात्र रैथाने धान फल्छ, अरु विकासे धानले विस्थापित गरिसकेको छ । 

रोग किरा लाग्ने र पाक्ने बेला असिनापानीले क्षति गर्ने हुँदा हिजोआज जुम्लामा मार्सी धानको खेती कम हुँदै गएको छ । जुम्ला लगायत कर्णाली भेगका बासिन्दा आफ्नै खेतबारीमा उत्पादन हुने कोदो, फापर, चिनो लगायतका पोषिलो खाद्यान्न उत्पादन गर्न छाडेर बजारमा पाइने कमसल चामलमा परनिर्भर हुन थालेका छ्न । चामल पुर्याएपछि राजनीति सफल भयो भन्ने नेताहरुको गलत मानसिकताले मार्सी धान लगायतका अरु रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । नेपाल कृषि अनुसन्धान परिषद नार्क, स्थानीय तह र अरु संघसंस्थाले रैथाने बालीको संरक्षणमा पहल गरे पनि प्रभावकारी हुन सकेको छैन । 

मार्सी भातमा राजनीति मोल्दासम्म स्थानीय उत्पादन बढाउने योजना र काम नलाग्ने भएकाले खेती बढाउने काममा ध्यान दिनुपर्ने खाँचो छ । तर खेतीमा भन्दा राजनीतिमा रमाउनेहरुले यो वास्तविकता कहिले बुझ्लान् र ! 
 

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया