पाकिस्तानी रेलमा आगलागी : ज्यान गुमाउनेकाे संख्या ७३ पुग्यो

 कात्तिक १४, २०७६ बिहिबार २०:३४:४८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको रहिम यार खानमा  रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेकाे संख्या ७३ पुगेको छ । 

रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परि ४० जनाभन्दा बढी घाइते भएका छन् । 
  

पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसकाे यात्रुवाहक रेलकाे तीन वटा डिब्बामा आगलागी भएकाे हाे । कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा ज्यान गएकाे पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । साथै घटनाका बारेमा छानबिनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् । 

पाकिस्तानका रेल मन्त्री शेख रसिद मृतकका परिवारलाई राहतस्वरुप सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनु भएकाे छ । त्यस्तै घाइतेलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने पनि उहाँले बताउनुभयाे । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया