फ्रेञ्च च्याम्पियन पीएसजीविरुद्ध डिजाेनकाे ऐतिहासिक जित

 कात्तिक १६, २०७६ शनिबार ७:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेइनमाथि डिजोनले ऐतिहासिक जित हात पारेको छ । एक गोलले पछि पारेको अवस्थामा डिजोनले दुई गोल फर्काउँदै पीएसजीमाथि इतिहासकै पहिलो जित निकाल्न सफल भएको हो ।

केलियन एमबाप्पेले १९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेको चार खेलमा सातौं गोल हो । पहिलो हाफको इन्ज्युरी समयमा मुनिर चाएरले डिजोनका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको दोस्रो मिनेटमा जोन्डर काडिजले गोल गरेपछि डिजोनले अग्रता लियो । त्यसपछि माउरो इकार्डीको पासमा इडिन्सन कभानीको प्रहार पोस्टभन्दा केही इन्च परबाट बाहिरिन पुग्यो ।

अघिल्लो सिजन रेलिगेसन प्लेअफ जितेरमात्र लिग वानमा बाँचेको डिजोन लिगको पुछारबाट दुई स्थानमाथि उक्लिँदै १८ औँ स्थानमा उक्लिएको छ । पीएसजीविरुद्धको तीन अंकसहित उसले १२ खेलबाट १२ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया