प्रदेश ७ को नाम र स्थायी राजधानी टुंगो लगाउन ढिलाइ

 साउन १, २०७५ मंगलबार १४:४९:४९ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रदेश नम्बर ७ को नाम र स्थायी राजधानीको टुंगो लगाउन ढिलाइ भएको छ । प्रदेश नम्बर ४ र ६ ले यो विषयलाई टुंग्याइसक्दा प्रदेश नम्बर ७ मा भने औपचारिक रुपमा छलफल समेत हुन सकेको छैन ।

सत्तापक्ष नेकपाबाट प्रतिनिधित्व गरिरहेका प्रदेश सांसद पूर्ण जोशीले अनौपचारिक रुपमा छलफल भए पनि औपचारिक रुपमा अहिलेसम्म कतै छलफल र बहस नभएको बताउनुभयो । ‘अल्पकालीन र आर्थिक वर्ष २०७५/७६ को बजेटमा लगातार छलफल गर्नु परेकाले प्रदेशको नामाकरण र स्थायी राजधानीको लागि ठाउँ तोक्ने विषयले संसदमा प्रवेश नै पाएको छैन,’ उहाँले भन्नु भयो, ‘यद्यपि अनौपचारिक रुपमा पार्टीभित्र र अन्य सरोकारवालासँग छलफल भइरहेको छ ।’

सांसद जोशीले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि ढिलो नभएको दावी गर्नुभयो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो छिट्टै लगाउनु पर्ने दबाब दिँदै आएको छ । 

कांग्रेस संसदीय दलले प्रदेश नामांकन र स्थायी राजधानीको सवालमा छलफल गराउनका लागि प्रदेश सचिवालयलाई झकझक्याउँदै आएको छ । ‘समयमै प्रदेश नामाकरण र राजधानीको टुंगो लगाइएन भने बजेट कार्यान्वयन र सचिवालय बनाउने सन्दर्भमा अप्ठ्यारो पर्न सक्छ,’ नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता समेत रहेका सांसद डा.रणबहादुर रावलले भन्नु भयो,‘त्यसैले, सचिवालय र सम्मानीय सभामुख ज्यूलाई यो विषयमा चाँडै बहस गरी निर्क्यौलमा पुग्नका लागि आग्रह गरेका छौँ ।’

यो विषयले बहसका लागि चाँडै संसदमा प्रवेश पाउने भन्दै सभामुखले आश्वासन दिएको नेता रावलले बताउनुभयो । उहाँले प्रदेशको नामांकन र स्थायी राजधानीको विषयलाई सकेसम्म चाँडो टुंग्याउनको लागि प्रमुख प्रतिपक्षीको हैसियतले प्रदेश सरकारलाई दबाव दिँदै आएको समेत बताउनुभयो । 

विगतमा प्रदेश नम्बर ७ को तराईमा दुई खालको आन्दोलन भएको थियो । अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन भएका कारणले यो प्रदेशको नामाकरणमा धेरै विवेक पुर्‍याउनु पर्ने देखिएको छ । यसैगरी, अस्थायी राजधानी तोक्ने क्रममा पनि डोटीमा आन्दोलन चर्केको थियो भने डोटीको दिपायलमा राजधानी हुनु पर्छ भन्ने माग उठ्दै आएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया