म्याङलुङ नगरपालिकाको बजेट ३५ करोड ९९ लाख

 साउन १, २०७५ मंगलबार १६:२२:९ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ३५ करोड ९९ लाख रुपैयाँको बजेट तथा योजना प्रस्तुत गरेको छ ।

नगरपालिकामा जारी दोश्रो नगरसभामा नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगीले ३५ करोड ९९ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।बजेटको चालु खर्चतर्फ कुल बजेटको ६३ दशमलव ४७ प्रतिशत अर्थात् २२ करोड ८४ लाख ५० हजार र पूँजीगततर्फ ३६ दशमलव ५३ प्रतिशत अर्थात् १३ करोड १४ लाख ९० हजार रुपैयाँ रहेको छ । जसको श्रोतका रुपमा संघीय सरकार वित्तीय समानीकरणबाट ७ करोड ८५ लाख, संघीय सरकार सशर्त अनुदानबाट १५ करोड ५१ लाख र सशर्त सामाजिक सुरक्षाबाट ३ करोड रुपैयाँ रहेको छ । 

यस्तै संघीय सरकार राजस्व बाँडफाँडबाट ५ करोड १६ लाख, सशर्त अनुदान प्रदेश सरकारबाट १ करोड, प्रदेश सरकार वित्तीय समानीकरणबाट ३३ लाख १८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट १ करोड ५ लाख, आन्तरिक आयबाट ६५ लाख तथा आर्थिक वर्ष २०७४÷०७५ को अनुमानित बचत १ करोड १४ लाख समेत रहेको छ । 

‘सबैको रहर, स्वच्छ, सुन्दर समृद्ध म्याङलुङ शहर’ भन्ने नारासहित नगरपालिकाले ल्याएको बजेटमा नगर क्षेत्रको गरिबी निवारण, उत्पादनमुलक र छिटो प्रतिफल दिने आयोजनाहरु, राजस्व परिचालन, सेवा प्रवाह र सुशासनलगायत क्षेत्रहरु प्राथमिकतामा परेका छन् ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह सुशासन, कृषि, उद्योग तथा बाणिज्य, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रहरु प्राथमिकतामा परेका छन् । 

नगरसभामा प्रस्तुत गरिएको बजेटमा पूँजीगततर्फबाट कृषिमा १ करोड ५१ लाख ५० हजार, पर्यटनमा २५ लाख, शिक्षामा ३३ लाख, स्वास्थ्यमा २२ लाख, खानेपानीमा ७७ लाख, संस्कृति प्रवद्र्धनमा ३९ लाख र खेलकुदमा ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै, म्याङलुङ्ग नगरपालिकाले सडक पुल निर्माणतर्फ २ करोड ९५ लाख, सिँचाईतर्फ १४ लाख, भवन तथा शहरी विकासतर्फ २३ लाख, ऊर्जातर्फ ५ लाख, फोहोरमैला व्यवस्थापनमा १६ लाख, विपद व्यवस्थापनमा १८ लाख र सुशासन प्रवद्र्धनमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले समपुरक कोषको रुपमा कुल पूँजीगत बजेटको ७.६ प्रतिशत अर्थात् १ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा नगर क्षेत्रमा सञ्चालन हुने आयोजनाहरुबाट नगरपालिकाले ३ प्रतिशत रकम मर्मत सम्भार कोषको रुपमा राख्ने नीतिगत व्यवस्था गरेको छ । 

यस्तै सबै योजना र कार्यक्रमहरुमा १० प्रतिशत लागत सहभागिता अनिवार्य गरिएको छ । नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई मृत्यु संस्कार खर्चका रुपमा ५ हजार रुपैयाँका दरले उपलब्ध गराउने गएको वर्षको कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

यसैबीच म्याङलुङ नगरपालिकाको न्यायिक समिति सम्बन्धी विधेयक, २०७५ नगरसभाबाट पारित भएको छ । नगरसभा सदस्य नारायण आचार्यले नगरसभामा न्यायिक समिति सम्बन्धी विधेयक, २०७५ छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । 

विधेयकले नगरपालिकाको न्यायिक समितिको काम कर्तव्य र अधिकारका विषयमा प्रष्ट पारेको छ । विधेयक पास भएपछि न्यायिक समितिको सेवा प्रवाह सु–व्यवस्थित हुने भएको छ । नगरसभाको अर्को बैठक साउन ४ गते बस्ने नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया