महिनावारीमा जंगलको बास : बच्चालाई जनावरको डर, आमालाई मान्छेकै !

 साउन १, २०७५ मंगलबार १६:२५:९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – महिनावारी कुनै पाप होइन भनेर सिकाउन हिँडेकी तल्कोट मेलबिसौना स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी अनिताकुमारी सिहंले आफै महिनावारी हुँदा छाउगोठमा बस्नुपर्यो । गाउँभन्दा दुई किलोमिटर टाढा जंगलमा रहेको छाउपडी गोठमा बस्दा उहाँलाई रातभरी निद्रा लागेन । डर मात्रै लाग्यो । 

‘महिनावारी भएका महिलालाई त ठूलै सरुवा रोग लागेको बिरामीलाई जस्तै व्यवहार गर्दा रहेछन्, कतिपय मान्छे त महिनावारी भएकी महिला हिँडेको बाटो पनि हिँड्दैनन्’ अनिताले भन्नुभयो, ‘यहाँको अवस्था यतिसम्म डरलाग्दो छ कि भनेर साध्य छैन ।’

जंगल रहेको छाउपडी गोठमा बस्न जाँदा दुईजना स्थानीय महिलालाई साथी लिएर गएको भए पनि राती निद्रा नलागेको उहाँले बताउनुभयो । एकरात जंगलमा बस्दा भोलि देख्न पाइने हो कि होइन भन्ने चिन्ताले रातभर उहाँलाई सतायो । उहाँले भन्नुभयो, ‘मलाई एकरात काट्न त यति गाह्रो भएको थियो, यहाँका महिलाले जिन्दगी कसरी काटेका होलान् ?’

जिल्लाका अरु गाउँपालिका तथा नगरपालिकामा छाउपडी कुप्रथा हराउन थाले पनि रोकाया समुदायको बसोबास रहेको तल्कोटको लोकण्ड गाउँमा भने कायमै छ । देउता रिसाउने र अनिष्ट हुने डरले महिनावारी हुँदा जंगलमा बस्ने गरेको यहाँका महिला बताउँछन् । 

जंगली जनावरको डर : कतिका बच्चा गायब

महिनावारी भएको बेला घर बस्दा अनिष्ट हुने डरले जंगलमा बास बस्दा यहाँका महिलाले झन अनिष्ट भोगेका छन् । झण्डै तीन वर्षअघि ७ दिनको नवजात छोरालाई छाउगोठमा छोडेर नुहाउन गएकी जलादेवी रोकायाले नुहाएर छाउगोठमा फर्किंदा छोरो फेला पार्नु भएन । जंगलभरी खोज्दा एउटा खोल्सामा सानो हाडको टुक्रा भेटियो । बच्चालाई जंगली जनावरले खाइसकेको रहेछ । 

१२ दिनकी छोरीलाई छाउगोठमा छोडेर गहुँ काट्न गएकी पिउली रोकायाले पनि त्यसरी नै सन्तान गुमाउनु पर्यो । ‘तीन दिनसम्म जंगलमा खोज्यौं, कतै केही पनि भेटिएन, जंगली जनावरले केही पनि बाँकी नराखेर खाएछ’ पिउलीले रुँदै भन्नुभयो । 

त्यही गाउँकी जमुना रोकायाले छाउपडी गोठमा सुताएर गएको ८ दिनको छोरा पनि घाँस काटेर फर्किंदा यसैगरी गायब भयो । खोज्दै जाँदा नजिकैको ओडारमा स्यालले आधा शरीर खाइसकेको अवस्थामा फेला पर्यो । 

मान्छेबाट पनि उस्तै पीडित

सुन्दा पनि कथा जस्तो लाग्ने यी घटना लोकण्डका प्रतिनिधि घटना मात्र हुन् । छाउ गोठमा बसेका बेला जंगली जनावर र किरा फटयाङ्गग्राबाट मात्र नभइ मान्छेबाट पनि महिलाहरु उत्तिकै पीडित छन् । लोकण्डकी महिला स्वास्थ्य स्वयंसेविका पानकला रोकायाले भन्नुभयो, ‘धेरै महिलाहरुले दुव्र्यवहार र बलात्कारको पीडा भोगेका छन् । कतिपय लाजले केही भन्दैनन् । भनिहाले पनि थोरै जरिवाना तिराएर गाउँमै मिलाउने गरिन्छ ।’ 

यो गाउँमा छाउपडी प्रथाको अन्धविश्वासले गहिरो जरा गाडेको छ । सामाजिक कार्यकर्ता सानुकुमारी शाहीले भन्नुभयो, ‘बच्चाहरु असुरक्षित छन् । छोरी बुहारीहरुलाई समस्या भयो । सबैतिर यस्तो चलन हटिसक्यो । हामीले पनि छाउपडी मान्नु हँदैन भनेर कति सम्झायौं । परिवर्तन हुनुको सट्टा उल्टै हामीलाई गाली गर्छन् । देउताको विरोध गर्ने तिमीहरुलाई पनि राम्रो हुँदैन भनेर धम्काउँछन् ।’

पिछडिएको गाउँको अवस्था फेर्न समस्या

यो गाउँका बासिन्दा नयाँ मान्छे देख्दा बोल्न पनि डराउँछन् । गाउँपालिकाका प्रतिनिधि र सामाजिक संघसंस्थाका मानिस वर्षमा एक दुईपटक मात्र गाउँमा देखिने, तर अरु नयाँ मान्छे नआउने स्थानीय कमला रोकायाले बताउनुभयो । सरकार र विभिन्न संघसंस्थाबाट पाउने कुनै पनि सुविधा यहाँ नपुगेकोले परिवर्तन हुन नसकेको उहाँको भनाई छ । 

गाउँमा अझै छोरीलाई स्कुल नपठाउने र सानैमा विवाह गरिदिने चलन छ । जिल्लामा महिला अधिकार, सरसफाई र चेतनाको क्षेत्रमा सरकारी र गैरसरकारी संघसंस्थाले ठूलो रकम खर्च गर्ने गरेको भए पनि यहाँ भने कसैले वास्ता नगरेको स्थानीय युवा सुरेश रोकायाले गुनासो गर्नुभयो । 

तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले भने विगतका वर्षहरुभन्दा अहिले गाउँमा निकै परिवर्तन आएको दावी गर्नुभयो । शिक्षित व्यक्तिहरुले छाउपडी प्रथा मान्न छाडेको उहाँले बताउनुभयो । नपढेका महिलाहरु र धामी झाँक्रीका कारण यस्तो कुप्रथा अन्त्य गर्न निकै चुनौती रहेको उहाँको भनाई छ । 

छाउपडी कुप्रथा अन्त्यका लागि गाउँपालिकाले जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको र योे साउन महिनामा नै टोलटोलमा पुगेर कार्ययोजना बनाउने अध्यक्ष विष्टले बताउनुभयो । 

तल्कोटको लोकण्ड जस्तै जयपृथ्वी नगरपालिका भित्रका सेलाखेत, मयाना, बारिल, ग्वानी, सल्याना, बाँझगाउँ लगायतका गाउँहरुमा पनि छाउपडी कुप्रथा कायमै छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया