जीप दुर्घटनामा नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते

 कात्तिक १९, २०७६ मंगलबार ८:१९:५६ | रासस
unn.prixa.net

उदयपुर – त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । उहाँले जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताउनुभयो । 

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा सोमबार साँझ ५ बजे त्रियुगा नगरपालिकाको स १ ज५३१ नम्बरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया