यस्ताे पनि रहर: जेलमा नि:शुल्क खान, बस्न पाइने भएकोले पटक पटक चोरी

 कात्तिक २१, २०७६ बिहिबार १७:१६:२० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमका एक युवाले जेलभित्र नि:शुल्क खान, बस्न पाइने भएकाले रहरले चोरी गर्ने गरेको प्रहरी समक्ष बताएका छ्न् ।

मुसीकोट नगरपालिका-१, खलंगाको त्रिवेणी चोकमा रहेकाे एउटा मोबाइल पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका मुसीकोट नगरपालिका-२, रातामाटाका २० वर्षीय राजु परियारले जेलमा कामै नगरी खान, बस्न र दिनरात बिताउन पाइने भएकोले चोरी गर्ने गरेको प्रहरी बयान प्रहरीलाई दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार परियारले कार्तिक १६ गते राति समयमा त्रिवेणी गाउँपालिका-५ का निर्मल विकको मोबाइल पसलमा चोरी गरेका थिए । परियारलाई मुसीकोट नगरपालिका-१, खलंगाबाटै पक्राउ गरिएको र उनको साथबाट ३ तीन थान मोबाइल, ३ थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा परियारले यस अघि पनि चोरीको मुद्दामा कैद भुक्तान गरिसकेको र जेलमा नि:शुल्क खान र बस्न पाइने भएले फेरि चोरी गरेको खुलेको डीएसपी खड्काले बताउनुभयो । परियारले यसअघि २०७३ कार्तिक २३ गते मुसीकोट-१, खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेको प्रहरीको भनाइ छ ।

उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया