बिग्रिरहने मोटरसाइकलले सपारेको पारसको जीवन

 कात्तिक २२, २०७६ शुक्रबार ११:४:० | सन्जिता देवकोटा

झापा –  समस्याहरु अनेक हुन्छन् । तर समस्यालाई अवसरमा बदल्ने चाहिँ कमै भेटिन्छन् । बिर्तामोर्डका पारस न्यौपाने त्यस्तो युवा हुनुहुन्छ, जसले आफूले दिनहुँ भोगेको समस्यालाई अवसरमा बदल्नुभएको छ । आफू पनि स्वरोजगार बन्नुभएको छ, अनि अरुलाई पनि रोजगारी दिनुभएको छ ।

हुन त पारस कमाएर जिन्दगीको बाटो नै बदल्न कतार पनि जानुभएको थियो । तर परदेशले भन्दा उहाँको जीवनमा आफूले दिनहुँ भोगिरहेको समस्याले अवसरको ढोका खोलिदियो । 

कसरी त ?

पारस भन्नुहुन्छ, ‘ समस्या अनेक हुन्छन्, तर अनेकमा एक चिन्न सक्नुपर्छ, त्यो एक मैले चिन्न सकेँ ।’ 

एउटा पुरानो मोटरसाइकलले थपिदियो पारसको जीवनको अनेक समस्यामा एक समस्या र त्यही मोटरसाइकलले नै खोलिदियो अवसरको ढोका पनि । 

पारस पुरानो मोटरसाइकल चढ्नुहुन्थ्यो । प्रायःजसो बिग्रिरहन्थ्यो । जतिपटक बनाउँदा पनि नहुने । राम्रो बनाउने ठाउँ पनि नभेटिने ।

पारसलाई कहिलेकाहीँ त लाग्थ्यो, यो फालिदिउँ । तर मोटरसाइकल बिग्रिरहने र राम्रोसँग बनाउने ठाउँका नभेटिने समस्याले नै पारसलाई अवसरको बाटो देखाइदियो । 

‘राम्रो बनाउने ठाउँ नभेट्दा मलाई लाग्यो, म यही मोटरसाइकल राम्रोसँग बनाउने ग्यारेज खोल्छु । अनि मैलेजस्तै समस्या भोग्नेलाई सजिलो बनाइदिन्छु भनेर मैले यो ग्यारेज खोलेको हुँ,’ पारस समस्यामा अवसरको ढोका खुलेको त्यो दिन सम्झनुहुन्छ । 

‘गरौं भने त कामका अवसर त हामीसँगै रहेछन् नि तर के गर्नु, कुनैबेला यस्ता अवसर नदेखेर परदेश जानुपर्‍यो,’ उहाँ विगत सम्झनुहुन्छ । 

कुरा सन् २०१० को हो । पारस २२ वर्ष मात्रै लाग्नुभएको थियो । उहाँको काँधमा घरको ऋण तिर्ने जिम्मेवारी आइपर्‍यो । 

‘घर पुरानो थियो, नयाँ घर बनायौं, त्यो बेला ऋण लाग्यो, ऋणले हातमुख जोर्न पनि गाह्रो, त्यही भएर कतार गएँ’ परदेशिनुको बाध्यता सुनाउनुभयो पारसले । 

कतारमा सोचेजस्तो त भएन । एक सेक्युरिटी कम्पनीमा असिस्टेन्टको काम थियो । सम्झौता अनुसार १५ सय कतारी रियाल तलब र दैनिक आठ घण्टा मात्रै काम गर्नुपर्ने थियो । तर भयो उल्टो । दिनको १२ घण्टा काम । अनि तलब चाहिँ महिनाको १२ सय कतारी रियाल मात्रै । 

‘त्यो बेला नै ऋण त तिरौं न, अनि किन बस्छु र यहाँ भन्ने सोचेको थिएँ’ पारस कतारका दिनहरु सम्झँदै भन्नुहुन्छ, ‘ऋण तिरे, अनि फर्किएर केही गर्नुपर्छ भनेर यसो अलिअलि बचत पनि गरेँ ।’

पाँच वर्ष कतार बसेर पारश स्वदेशमै केही गर्ने सोचका साथ घर फर्किनुभयो । तर काम के गर्ने ? कुन व्यवसाय गर्ने ? कहाँ लगानी गर्दा उपयुक्त हुन्छ भनेर छुट्याउन सक्नुभएको थिएन । 

त्यही अन्यौलमा बिग्रिरहने मोटरसाइकलले उहाँलाई अवसरको बाटो देखाइदियो । 

भारतबाट मिस्त्री ल्याएर काम सिकेँ

ग्यारेज खोल्ने योजना मनमा बने पनि हातमा सीप थिएन । तर भनिन्छ नि जहाँ इच्छा, त्यहाँ उपाय । पारसले भारतबाट मिस्त्री ल्याएर काम थाल्ने अनि आफू पनि उनीहरुसँगै काम सिक्ने निर्णय गर्नुभयो । 

पारसको यो योजना सफल पनि भयो । ‘राम्रो काम गर्ने भएपछि  व्यापारमा त कुनै समस्या नै भएन, सुरुवातमा ग्यारेज चलाउन अलि समस्या भए पनि कामले ग्राहक तान्दै लग्यो,’ पारस भन्नुहुन्छ । 

चार वर्ष हुन लाग्यो पारसको सरल ग्यारेज । अहिले पारसले तीन जनालाई रोजगारी दिनुभएको छ । सबै खर्च कटाएर मासिक ५० देखि ६० हजार रुपैयाँ बचत गर्नुहुन्छ पारस । 

परिवारसँग टाढा रहेर, परदेशमा घाम पानी नभनी खट्दा हुने कमाइभन्दा उहाँले परिवारसँगै बसेर बढी आम्दानी गरिरहनुभएको छ । पारसलाई पनि हिजोआज लाग्छ, ‘परदेशको लाखभन्दा पनि परिवारको साथ ठूलो रहेछ ।’

दुःख सुखमा आफ्नाको साथ छ । पैसा त आज भए भोलि नहोला । आज नभए भोलि कमाइएला । पारसलाई लाग्छ, मान्छेको मन खुशी हुनुपर्छ । पारस आफ्नै ठाउँमा गरिरहेको कामबाट खुशी हुनुहुन्छ । 

स्वदेशमा काम गर्दाका थुप्रै फाइदा छन् भन्नुहुन्छ पारस । दुःख बिमार पर्दा सजिलो हुन्छ, परिवार र आफन्तको साथ सहयोग हुन्छ । मन नलागे आराम गर्न पाइन्छ । तर परदेशमा त दुख्दा रुन पनि पाईंदैन । बिरामी भएँ भनेर सुख पनि पाईंदैन । 

काम गर्न लजाउनु नै असफलता हो 

३१ वर्ष लागेका परसको भोगाइमा काम गर्न लजाउनु नै असफल हुनु हो । ‘कतिलाई लाग्दो हो यस्तो कालोमैलो हुने काम पनि गर्छन् ?’ पारश भन्नुहुन्छ, ‘जसले यो कालोमैलोलाई माया गर्‍यो त्यसले परिवारकै साथमा बसेर केही गर्‍यो, जसले यो कालोमैलोलाई घृणा गर्‍यो उसले दुःख पायो ।’

नेपालमा काम गर्न लजाउने र विदेशमा जस्तो काम पनि गर्ने प्रवृत्ति बढ्दो छ, हिजोआज । तर पारस भने कालोमैलो, धुलोफुस्रो जे सहनु परे पनि आफ्नो ठाउँमा आफ्नो काम गर्न पाउँदा गर्व लाग्छ भन्नुहुन्छ । 

साँच्चै स्वदेशमै काम गर्ने मन हुने हो भने कामका अवसर थुप्रै देख्नुहुन्छ पारस । तर मन भने दरिलो हुनुपर्छ । आज भएन भनेर हात झिक्नु हुँदैन ।

‘लाज मान्न भएन, उपलब्ध काम यहीँ गर्छु, विदेशको जति यहीँ खट्छु भन्ने हो भने ४०/५० हजार रुपैयाँ कमाउन खाडी जान पर्दैन,’ पारस स्वदेशमै केही गर्न सबैलाई सन्देश दिनुहुन्छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया