मनकारी एम्बाप्पे : विश्वकप खेलेर पाएको ५ करोड रुपैयाँ अनाथ बालबालिकालाई दिए

 साउन १, २०७५ मंगलबार १८:४७:४४ | एजेन्सी
unn.prixa.net

रसिया विश्वकप खेल्न आउनुअघि युवा खेलाडी केलियन एम्बाप्पे सुपरस्टार फुटबलर थिए । तर विश्वकपको उपाधिसँगै फर्किदा उनी मेगास्टार फुटबलर बनेका छन ।

१९ वर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक समाजसेवी पनि हुन भन्ने दर्शाएका छन । उनले विश्वकप खेल्दा पाएको ५ लाख अमेरिकी डलर अर्थात झण्डै ५ करोड भन्दा बढी रुपैयाँ च्यारिटीलाई दिएका छन ।

फ्रान्सको प्रिमियर्स डी कोर्डी नामक संस्थालाई उनले अप्रिलमा नै केही रकम सहयोग गर्ने वाचा गरेका थिए । विश्वकपबाट फर्किएपछि उनले प्रतिखेल पाउने रकमका साथै बोनस रकम मिलाएर ५ लाख डलर त्यस संस्थालाई दिने घोषणा गरेका छन ।

अनाथ बालबच्चाका साथै अपांग बालबालिकाको सहयोगमा खोलिएको त्यस संस्थामा रहेका बालबालिका पनि फुटबलमा लागून् भनेर एम्बाप्पेले त्यो रकम दिएको बताएका छन । तर एम्बाप्पेको च्यारिटीलाई सहयोग गरेको यो पहिलो पटक भने होइन । विश्वकप अगाडि पनि उनले फ्रान्सको एक कलेजका २५ जना विधार्थीलाई रसिया विश्वकप हेर्नका लागि प्रायोजन गरेका थिए ।

उनको यो उदारताबाट फ्रान्सका अरु खेलाडीले पनि पाठ सिक्ने बताइएको छ । एम्बाप्पेको उदार भावनाले उनी मैदानमा मात्र होइन मैदान बाहिर पनि हिरो भएका छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया