भारतकाे बिहारमा सडकमै चाँदीका टुक्रा छरपस्ट: स्थानीय चकित

 कात्तिक २२, २०७६ शुक्रबार १९:४६:५१ | एजेन्सी
unn.prixa.net

बिहारको सीतामढी जिल्लाको सुरसन्ड ग्रामीण इलाकाकाे सडकमा छरपस्ट चाँदीका टुक्रा भेटिएपछि मानिसहरु चकित परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बुधबार बिहान मानिसहरुले सुरसन्डको टावर चोकबाट बाराही गाउँसम्म जाने सडकमा चाँदी छरिएको पाएका थिए । बिहान बिहान सडकमा चाँदीका टुक्रा भेटिएपछि त्यहाँका स्थानीयहरु अचम्मित भएका थिए । 

मानिसहरुले सडकमा छरिएको साना साना चाँदीका टुक्रा टिपेर घर लगेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

नेपालको सीमानजिक चाँदी छरिएको पाइएपछि कुनै तस्करले बोरामा चाँदी लिएर जाँदै गर्दा च्यातिएर चाँदी बाटोमा पोखिएको हुनसक्ने आशंका गरिएको छ । 

परिहार-सुरसन्ड स्टेट हाइवे-८७ मा तीन किलोमिटर सडकमा चाँदी छरिएको पाइएको हो । छरिएका चाँदी टिप्न मानिसहरुको निकै भिड लागेको थियो । सुरसन्ड नगर पञ्चायतको अम्बेडकर चोकबाट जवाहरलाल नेहरु मेमोरियल कलेज बाराही सहसराम सडक ललिया चोकसम्म चाँदी पाइएको बताइएको छ । 

मंगलबार रातिदेखि नै मानिसहरुले छरिएका चाँदीका टुक्रा टिप्न थालेका थिए । उनीहरुले १०० देखि २०० ग्रामसम्म चाँदी टिप्न भ्याएकाे बताइएकाे छ । पुरै चाँदी टिपिसक्दा ५० किलोसम्म हुनसक्ने बताइएको छ । 

सितामढी प्रहरी चौकीका अध्यक्ष भोला कुमारले यस विषयमा अनुसन्धान भैरहेको बताएका छन् । स्थानीयहरुले भने रातकाे समयमा चाँदीको तस्करी हुने गरेको बताएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया