लमजुङमा ठाडोभाका शिरोमणि भेँडीखर्के साइँलाको शालिक बनाइने

 साउन १, २०७५ मंगलबार १८:४८:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– ठाडोभाका शिरोमणि स्वर्गिय भेँडीखर्के साइँलाको शालिक ठड्याइने भएको छ ।

साइँलाले आजीवन लमजुङे सँस्कृतिसँग जोडिएको मौलिक ठाडोभाका संरक्षणमा अतुलनीय योगदान पुर्याएको भन्दै उहाँको सम्मानमा शालिक ठड्याउन लागिएको हो । सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण संरक्षण विकास समितिको स्वामित्वमा रहेको जग्गामा ठाडोभाका शिरोमणि साइँलाको शालिक ठड्याउन लागिएको हो । यसअघि सुन्दरबजार नगरपालिकास्थित भोटेओडार कृष्ण बगैँचामा साइँलाको शालिक निर्माण स्थलको शिलान्यास भइसकेको छ । 

सुन्दरबजारको लक्ष्मीनारायण मन्दिर परिसरमा बन्न लागेको साइँलाको शालिक निर्माण स्थलको शिलान्यास भने मंगलबार जिसस लमजुङका संयोजक लोकराज पाण्डेले गर्नुभएको हो । मौलिक लोकसंगीत जोगाउन पुरै जीवन सुम्पेका साइँलाको योगदान अतुलनीय रहेको पाण्डेले बताउनुभयो ।

ठाडोभाका शिरोमणि साइँलाको सम्मानका लागि शालिक निर्माण गरिनु सकारात्मक रहेको धारणा राख्नुभयो । मौलिक ठाडोभाका संरक्षणमा ध्यान दिन सके अझ उहाँप्रतिको सच्चा सम्मान हुने पाण्डेले बताउनुभयो ।  

७ लाख खर्च हुने   

शालिक निर्माणमा झण्डै ७ लाख खर्च हुने अनुमान गरिएको छ । शालिक निर्माणमा भेँडीखर्के साईँला स्मृति प्रतिष्ठान जुटेको छ । विभिन्न निकायका साथै स्वदेश–विदेशमा रहेका व्यक्तिहरुबाट प्राप्त सहयोगका आधारमा शालिक निर्माणमा जुटेको भेँडीखर्के साइँलाका ज्वाई एवम् भेँडीखर्के साइँला प्रतिष्ठानका अध्यक्ष शम्शेर लौडारीले बताउनुभयो ।  उहाँका अनुसार साइँलाको २०७४ साल भदौ २६ गते निधन भएको हो ।   

‘विभिन्न निकायबाट सहयोग प्राप्त हुने आश्वसन पाएका छौँ । देश–विदेशमा रहनुभएका महानुभावले  पनि सहयोग गर्छौँ भन्ने वचन दिनुभएको छ । सहयोग जुटाउने काम भइरहेको छ । साइँलाको सम्मानका खातिर हामीले शालिक बनाउन जुटेका हौँ । लाग्छ, यसमा सबैको साथ सहयोग अवश्य मिल्नेछ,’ उहाँले भन्नुभयो ।   

लक्ष्मीनारायण विकास समितिका अध्यक्ष एवम् प्रतिष्ठानका सदस्य परमेश्वर अधिकारीका अनुसार लक्ष्मीनारायण मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न लागिएको छ । अहिले यहाँ पिकनिक स्थल बनाइएको छ । बस्नका लागि २ वटा पाटी बनाइएको छ ।   

‘ठाडोभाका सर्जक भेँडीखर्के साइँलाको शालिक बनाउनका लागि हामीले जग्गा उपलब्ध गराएका छौँ । मन्दिर परिसरमा उहाँको शालिक बन्न लागेकोमा हामी खुशी छौँ । यसले यहाँको धार्मिक एवम् पर्यटन विकासमा पनि टेवा पुर्याउने छ,’ अधिकारीले भन्नुभयो । उहाँका अनुसार अहिले साइँलाको शालिक काठमाडौँमा बनिरहेको छ । आउँदो भदौ ६ गते शालिक अनावरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।    

भेँडीखर्के साईँला स्मृति प्रतिष्ठानका सदस्य अर्जुन परियार, ठाडोभाका संरक्षण अभियानमा जुटेका विष्णुभक्त अधिकारी, सुन्दरबजार वडा नम्बर २ का वडाअध्यक्ष जगतबहादुर खड्का, उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा, स्थानीय विद्यादेवी श्रेष्ठले ठाडोभाका सर्जक स्वर्गीय साइँलाको योगदान कसैले भुल्न नहुने बताएका छन् । उनीहरुका अनुसार मौलिक ठाडोभाका संरक्षणमा सबै जुट्नु आवश्यक छ ।   
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया