नेकपाको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा

 कात्तिक २५, २०७६ सोमबार १२:५५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एकीकरणको बाँकी काम मध्ये विभिन्न तीन वटा आयोगको नेतृत्व टुंगो लगाएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकायलाई चयन गरेको हो ।

यस्तै केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल तथा लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन हुनुभएको छ ।

बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई चयन गरिएको जानकारी दिनुभयो ।

यस्तै बैठकले जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ । 

सोमबार आयोग र अन्य दुई वटा समितिको बारेमा निर्णय गरिएको भए पनि एकीकरणको बाँकी काम आगामी बस्ने बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने भनिएको भए पनि त्यसबारेमा भने सोमबारको बैठकमा छलफल नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया