ओलीसँग नागरिकको आश : मोदीसँग बात गरून्, भरपर्दो साथ खोजून् !

 कात्तिक २५, २०७६ सोमबार १८:२८:४२ | मिलन तिमिल्सिना
unn.prixa.net

आलोचक र प्रशंसकबाटसमेत आराम गर्ने सल्लाह पाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली झनै सक्रिय भैरहनुभएको छ ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले दुःख दिएपछि लगातार दुईपटक डायलासिस गरेका प्रधानमन्त्री तँग्रिसक्नुभएको छैन । तर पहिलेभन्दा बढी काममा व्यस्त देखिनुहुन्छ । अघिल्लो हप्ता मात्रै उहाँले तीनवटा चर्चित र महत्वपूर्ण काम गर्नुभयो ।

पहिलो सबै प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति । दोस्रो भारतले मिचेको नेपाली भूमि जोगाउन सर्वपक्षीय सहमति निर्माण । तेस्रो आफ्नो सचिवालय सदस्यदेखि मन्त्रालयका सदस्यसम्म हेरफेरको तयारी । प्रदेश प्रमुखको हेरफेरको कुराभन्दा अझै बढी महत्वपूर्ण छ, नेपाली भूमि जोगाउने विषयमा राष्ट्रिय सहमति निर्माण र सहयोगी तथा मन्त्री हेरफेरको पहल । पहिले नेपाली भूमि जोगाउनको लागि भएको राष्ट्रिय सहमति र प्रधानमन्त्रीबाट नागरिकले अझै चाहेको अपेक्षाको चर्चा गरौं । 

नेपाली भूमि कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध भैरहेको छ । हुन त कालापानीको सीमा विवाद नयाँ होइन । पुरानै समस्या हो । तर कालापानी लगायतका अरु सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि दुई देशको कार्यदलले काम टुँगोमा नपुर्‍याइसकेको अवस्थामा फेरि भारतले नयाँ नक्सामा कालापानी क्षेत्र समावेश गर्नु नेपालीमाथिको हेपाहा र मिचहा प्रवृत्तिको निरन्तरता हो ।

भारतको यस्तो हेपाहा प्रवृत्तिविरुद्ध नेपालीले स्वतःस्फूर्त रुपमा आवाज उठाइरहेका छन् । कालापानीलाई लिएर उठेको स्वर सुस्ता र अरु मिचिएका सीमा क्षेत्रसम्म फैलिएको छ । देश विदेशमा रहेका नेपालीको मनमनमा राष्ट्रिय भावना झाँगिएको छ । नेपाली भूमि जोगाउने र फिर्ता गर्ने मौका यही हो भनेर सरकारलाई घच्घच्याउने काम भैरहेको छ ।

जनस्तरबाट उठ्ने यस्तो आवाजमा पहिले पहिले राजनीतिक दलहरुले आफूअनुकूलको स्वार्थ खोज्थे । कसैले स्वरमा स्वर मिसाउँथे । कोही चुप लाग्थे । तर यसपटक त्यस्तो भएन । नेपाली भूमि जोगाउन सत्तारुढ र विपक्षीसँगै देशका सबै वर्ग र क्षेत्रका समुदाय एकजुट भएका छन् । पहिलेजस्तो भारतलाई चिढ्याउँदा आफ्नो स्थान धर्मराउँछ कि भन्ने डर यसपालि कुनै दल र नेतामा देखिएको छैन ।

आफ्नो भूमि जोगाउनको लागि एउटै स्वर बनाउने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाउनुभयो । राष्ट्रिय हितको पक्षमा सर्वपक्षीय बैठक बोलाउनु नै प्रधानमन्त्रीको सकारात्मक पहल भएको भन्दै विपक्षी कांग्रेसका नेताहरुले समेत प्रशंसा गरे । सर्वपक्षीय बैठकमा यसअघि कहिल्यै नभएको अभूतपूर्व राष्ट्रिय एकता कायम भयो ।

कालापानी नेपालको हो भन्नेमा सबै दल, नेता र सीमाविदले स्वर मिसाए । अनि तथ्य प्रमाणका आधारमा भारतसँग कुटनीतिक ढंगले वार्ता गर्न सबै दलले सरकारलाई सुझाव दिए । यही सुझावको आधारमा सरकारले भारतसँग उच्चस्तरीय वार्ताको तयारी गरेको छ । अहिले परराष्ट्र सचिवस्तरमा कुरा गर्ने तयारी भैरहेको सरकारी स्रोतको भनाई छ ।

तर यो या त्योपछि भन्दा पनि भारतसँग अहिले नै, आज नै कुरा गर्नुपर्छ भन्ने आमनागरिकको भनाई छ । हुन त कुटनीतिक रुपमा कुरा गर्ने आफ्नै विधि र प्रक्रिया होलान् । सरकारले औपचारिकतासँगै अरु मेलोमेसो मिलाउनुपर्ला । गाउँठाउँमा सीमा मिचिएको विषयमा हुने कचहरीजस्तो उतिखेरै समाज डाकेर छिनोफानो गर्न नसकिएला । अनि कुरा थाल्दैमा आजभोलि नै समस्या समाधान नहोला । 

तर आमनागरिकको चाहना छ, फलाम तातेको यहीबेला प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एकपटक बात गरुन् । कालापानी, सुस्ता लगायतका मिचिएका भूमि नेपालकै हो भनेर तथ्य, प्रमाण सम्झाउन् । सीमा समस्या समाधानका लागि भैरहेको पहल छिटो टुंग्याउन भनून् । 

प्रधानमन्त्री ओलीलाई आमनागरिकको भावना, चाहना र देशकै आवश्यकता बुझेर यो समस्यालाई सुल्झाउनको लागि ठोस पहल गर्नुपर्ने चुनौती र अवसर दुवै छ । यसअघि पहिलोपटक प्रधानमन्त्री भएको बेला भारतीय नाकाबन्दीको डटेर सामान गर्दै भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्न सफल ओलीलाई फेरि त्यस्तै अवसर आएको छ । 

परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र र कार्यदलबाट काम भैरहन्छ । तर त्योभन्दा पहिले नै भारतीय समकक्षीसँग टेलिफोनमै भए पनि यस विषयमा कुरा गर्न सकिन्छ । कालापानी नेपालकै हो भन्ने बलिया तथ्य प्रमाण पेश गर्दै दबाब दिन सकिन्छ ।

आफ्नो भूमि जोगाउनको लागि भारतलाई नचिढ्याइकन कुरा गर्न सक्ने ठाउँ धेरै छन् । तथ्य प्रमाण हुँदाहुँदै पनि भारतले आफ्नै हो भनेर दाबी गरिरह्यो भने अरु अन्तर्राष्ट्रिय संघसंस्था गुहार्न सकिन्छ । तत्काललाई भारतीय समकक्षीसँग छिटो कुरा गरेर सर्वपक्षीय बैठकको निचोड, नेपाली नागरिकको आक्रोश र भारतले मिचेका भूमि हाम्रो हो भन्ने प्रमाण सम्झाउन सकेमा मात्रै पनि प्रधानमन्त्री ओलीको पहल महत्वपूर्ण हुन्छ । राष्ट्रियताको पक्षमा यति ठूलो र महत्वपूर्ण अवसरमा प्रधानमन्त्रीले पक्कै ढिलो गर्नुहुन्न भन्ने आमनागरिकको विश्वास छ ।

अर्को महत्वपूर्ण कुरा प्रधानमन्त्री ओली छिटो परिणाममुखी काम गरेर देखाउन चाहनुहुन्छ भन्नेमा नागरिक ढुक्क छन् । उहाँका पछिल्ला केही कदमले यो कुरा छर्लंग पारेको पनि छ । प्रधानमन्त्रीका केही सल्लाहकार, सचिवालयका सदस्य र केही मन्त्रीहरुका कारण पनि सरकारले परिणामुखी काम गर्न सकेन भन्ने आवाज पहिलेदेखि नै उठ्दै आएको हो । यसअघि पनि केही मन्त्री फेरबदल गर्ने चर्चा थियो । तर पार्टी एकताको काममा असर पर्छ भन्ने बुझेर होला प्रधानमन्त्रीले यो पहललाई छिटो टुंगोमा पुर्याउन सक्नुभएन ।

अहिले भने प्रधानमन्त्री ओली आफ्नो अभियानमा बाधक बन्न खोज्नेहरुलाई पन्छाउन खोज्दै हुनुहुन्छ । यसको सुरुवात उहाँले आफ्नै सल्लाहकार र सचिवालय समूहबाट गर्नुभएको छ । सल्लाहकार, सहयोगी र आफ्ना वरपरका मान्छेको काम गर्ने शैली आफूअनुसार भएन भने काम गर्न खोज्नेलाई पक्कै बाधा हुन्छ । भनेको र सोचेको काम सुरु गर्न र सुरु भएको काम पूरा गर्न सकिंदैन । प्रधानमन्त्री ओलीलाई पनि यस्तै भएको हुनुपर्छ । त्यसैले उहाँ सचिवालय र सल्लाहकार समूहसँगै मन्त्रिपरिषद सदस्यमा पनि नयाँ अनुहार खोज्दै हुनुहुन्छ । प्रधानमन्त्रीको यो कदम पनि ठिक हो भन्नेहरु धेरै छन् ।

तर अब कस्ता मान्छेलाई प्रधानमन्त्रीले चयन गर्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । पहिलेजस्तै प्रधानमन्त्रीले आफू वरपर घुम्नेहरुलाई मात्र प्राथमिकता दिनुभयो भने फेरि पुरानै प्रवृत्ति दोहोरिन्छ । छिटो परिणाम देखिने गरी काम गर्ने योजना विफल हुन्छ । त्यसैले प्रधानमन्त्रीले आफ्नो ‘स्पिरिट’ अनुसारकै नयाँ अनुहार खोज्न सक्नुहोस् भन्ने नागरिकको चाहना हो ।

अहिलेलाई प्रधानमन्त्रीले आफ्नो समूहमा योग्य र सक्षम मान्छे राख्न सक्नुभयो भने मात्रै पनि सरकारले परिणाममुखी काम गर्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।

बिरामी हुँदाहुँदै पनि सक्रिय प्रधानमन्त्रीबाट नागरिकले अहिले यति आशा गरेका छन् । एक नेपाली भूमि जोगाउन भारतीय समकक्षी मोदीसँग निर्धक्क कुराकानी । अर्को परिणाममुखी काम गर्न सक्ने सक्षम र योग्य मान्छेको साथ । आशा गरौं आफ्नो छवि सुधार्दै र अग्ल्याउँदै गरेका प्रधानमन्त्रीले नागरिकको यो विश्वास मर्न दिनु हुन्न ।

अन्तिम अपडेट: चैत ६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया