बाँकेमा प्रहरीविरुद्ध तरुण दलको विरोध प्रदर्शन

 कात्तिक २५, २०७६ सोमबार १९:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - आफ्ना नेता कार्यकर्तालाई सरकारको निर्देशनमा झुटो आरोपमा फसाइएको भन्दै नेपाल तरुण दल बाँकेको आयोजनामा सोमबार नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेस र नेपाल तरुण दलका केन्द्रीय नेताहरुको उपस्थितिमा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सकिएको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले वर्तमान सरकारको निर्देशनमा कांग्रेसका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै निर्दोषलाई तत्काल रिहा गर्न माग गर्नुभयो । उहाँले सरकारले सीमाको रक्षा गर्नसमेत नसकेको टिप्पणी गर्नुभयो ।

तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईँले बाँकेमा सरकारको निर्देशनमा तरुण दलका नेता कार्यकर्तालाई प्रहरीले ज्यादती गरेको भन्दै तरुण दलका नेता कार्यकर्तालाई फसाउने प्रहरी अधिकारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सीमाको सुरक्षामा लाग्नुपर्ने सरकार तरुण दलका नेता कार्यकर्तालाई फसाउन लागेको भन्दै उहाँले कुनै पनि हालतमा स्वीकार्य नभएको टिप्पणी गर्नुभयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहलाई केही दिनअघि हतियारसहित पक्राउ गरेपछि तरुण दल निर्दोषलाई फसाइएको दाबी गर्दै आन्दोलनमा उत्रिएको छ ।

तरुण दल बाँकेका सहसचिव विमल चन्दले विरोधका कार्यक्रम निरन्तर हुने जानकारी दिनुभयो । मंगलबारसमेत जिल्ला प्रशासन कार्यालय घेराउ गरिने भएको छ । तरुण दलले प्रहरीले शाहलाई फसाएको र जिल्ला सहसचिव केशर खड्कालाई भौतिक आक्रमणको धम्की दिएको दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया