डाक्टर केसी र सरकारी पक्षबीचको वार्ता अनिश्चित

 साउन २, २०७५ बुधबार ८:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता हुने नहुने अनिश्चित भएको छ । 

दुवै पक्षका प्रतिनिधिले आ–आफ्ना अडान नछाडेपछि आज वार्ता हुने वा नहुने अन्यौल भएको हो । हिजो र अस्ति गरेर तीन पटक वार्ता भए पनि दुवै पक्षले आफ्नो अडान नछाड्दा सहमति हुन सकेको छैन । 

सरकार पक्ष डा. केसीलाई काठमाडौंमा ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने र केसी पक्ष संसदमा पेस भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिनुपर्नेमा अडिग भएपछि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्ष आ–आफ्ना अडानबाट पछि नहट्ने मनस्थितीमा रहेकाले वार्ता बस्नुको कुनै औचित्य नभएको दुवै पक्षले बताएका छन् । 

डाक्टर केसी पक्षका वार्ता टोलीका अनुसार सरकारले केसीलाई उपचारका लागि काठमाडौं ल्याउने प्रस्ताव मात्र गरेको छ । यस विषयमा पनि थप कुराकानी हुन सकेको छैन । केसीको मागको विषयमा प्रवेश नै नगरी उहाँलाई उपचारको लागि काठमाडौं ल्याउने प्रस्ताव मात्रै गरेकाले वार्ता अगाडि नबढेको केसी पक्षले बताएको छ । 

सरकार पक्षले भने व्यक्तिको ज्यान जोगाउनु पहिलो प्राथमिकता रहेको भन्दै पहिले डाक्टर केसीलाई उपचारको लागि काठमाडौं ल्याउनुपर्ने बताएको छ । जुम्लामा १९ दिनदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको । उहाँको मुटुको चाल जुनसुकै बेला पनि रोकिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत  डाक्टरले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया