कोशी टप्पु संरक्षण र पर्यटन विकासका लागि तीन तह एकै ठाउँमा, यसरी बन्दैछ योजना

 मंसिर ४, २०७६ बुधबार २०:४:२३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सबै जना तयार भएका छन् ।  

पर्यटकीय क्षेत्र कोशी टप्पु : पूर्वाधार विकास र कानुनी जटिलता विषयमा संवाद समूह मोरङले कोशी टप्पुमा मंगलबार आयोजना गरेको कार्यक्रममा कोशी टप्पुको संरक्षण र पर्यटकीय विकासका लागि सबै एकमत भएका हुन् । 

स्थानीयवासी र वन्यजन्तुको आपसी द्वन्दका कारण कोशीटप्पुमा पर्यटनको विकास हुन सकेको छैन । त्यसको दिगो समाधानका लागि क्यानल (दोहोरो ढलान भएको बीचमा पानी बग्ने नहर जस्तै संरचना) निर्माण गरी जंगली जनावरलाई बाहिर आउने समस्याको अन्त्य गर्ने तथा भित्र जंगली जनावरका लागि घाँसको व्यवस्थापन गरी दिगो समाधान खोज्न कोशी गाउँपालिका, कोशी टप्पु वन्यजन्तु आरक्ष र प्रदेश सरकार तयार भएका हुन् । 

कोशी टप्पुमा पर्यटक भित्र्याउनका लागि स्थानीयको साथ चाहिने भएकोले स्थानीयलाई साथमा लिन आरक्ष, गाउँपालिका र प्रदेश सरकारका बिचमा समन्वयको खाँचो रहेकोले  तत्काल समन्वयको वातावण बनाउन पनि सबै एक भएका छन् । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले जंगली जनावरको व्यवस्थापनसँगै पर्यटनको विकास गरिनुपर्ने बताउनुभयो । 

पर्यटन व्यवसायी तथा होटल व्यवसायीसँगै भएको संवादमा स्थानीयलाई लक्षित गरी सचेतना तथा आयआर्जनमूलक कार्यक्रमका बारेमा गाउँपालिका र प्रदेश सरकारले काम सुरु गर्ने बताएका छन् । 

कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जको रुपमा विकास गर्नका लागि स्थानीय पालिका र प्रदेश सरकारले छलफल र समन्वयको काम थाल्ने बताइएको छ । पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार र कोशी गाउँपालिकाले आरक्ष आसपासमा पार्कको निर्माण गर्ने काम सुरु गरिसकेको गाउँपालिका अध्यक्ष अयुव अन्सारीले जानकारी दिनुभयो । 

पर्यटक ल्याउन र पर्यटकीय क्षेत्रको रुपमा कोशी टप्पुलाई विकास गर्ने विषय आइरहँदा पहिलो प्राथमिकता स्थानीयको समस्या भएकोले उनीहरुको समस्या र उनीहरुको आय आर्जनको वातावरण बनाउनतर्फ पनि ध्यान जानुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ । 

पर्यटकलाई घुमाउन गाइडको अभावलाई अन्त्य गर्नका लागि गाउँपालिकाले आरक्षलाई सहयोग गर्ने र आरक्षले गाइड उत्पादनको तालिम दिने सहमति भएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले तालिम दिलाउने काम आरक्ष प्रशासनको भएको बताउनुभयो । 

कोशी टप्पु आरक्ष क्षेत्र आसपासको ‘बफर जोन’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भए पनि आरक्ष क्षेत्रभित्र भने गतिविधि गर्न नपाइने आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीको भनाइ छ । 

‘बफर जोन’ क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा कोशी गाउँपालिकाले लगानीको वातावरण बनाउने तथा प्रदेश सरकार र स्थानीय पालिकाले पूर्वाधार निर्माणको लागि काम सुरु गर्ने पनि छलफलबाट निष्कर्ष निस्किएको छ । 

त्यस्तै संवादकै क्रममा केही वर्ष अगाडि लगातार तीन वर्षसम्म हुँदै आएको चरा महोत्सवलाई निरन्तरता दिने बारेमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएन । तर फेब्रुअरी २ मा सिमसार दिवस मनाउन आरक्षको प्रस्तावमा गाउँपालिका र प्रदेश सरकार पनि सहमत भएको विराटनगरका होटल तथा पर्यटन व्यवसायी भविश श्रेष्ठले जानकारी दिनुभयो । 

संवादमा सहभागी हुन पुग्नुभएकी प्रदेश १ की प्रदेश सभा सदस्य सावित्रा रेग्मीले कोशीटप्पुलाई चितवन राष्ट्रिय निकुञ्जभन्दा धेरैमाथि लान सकिने स्पष्ट पार्नुभयो । कोशी टप्पु जतिको सम्भावना बोकेको क्षेत्र प्रदेश १ मा कमै रहेको बताउँदै उहाँले कानुनी जटिलता भए गाँठो फुकाएर तत्काल पर्यटक भित्र्याउने वातावरण बनाउनु पर्ने तर्क राख्नुभयो । 

‘नेपाल भ्रमण वर्ष २०२०’ प्रदेश समितिका सहसंयोजक राजन श्रेष्ठ, होटल संघ इटहरीका अध्यक्ष जीवन पराजुली, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष मणिन्द्र कटुवाल लगायतले कोशी टप्पुमा लगानी गर्न लगानीकर्ताहरु तयारी अवस्थामा रहे पनि स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारले वातावरण बनाउन नसकेको बताए । 

विराटनगर ट्राभल्स एजेण्ट संघका अध्यक्ष फणिन्द्र अधिकारी तथा उपाध्यक्ष ज्ञानु नेपालले अहिलेको अवस्थामा कोशी टप्पुको लागि पर्यटक घटेकोले पर्यटक बढाउन सबै लाग्नुपर्ने बताए । गएको वर्षहरुमा जस्तो पर्यटकको चाप भने नदेखिएकोले त्यसको पहिचान गर्नुपर्नेमा उनीहरुले जोड दिए । 

धरानका पर्यटन व्यवसायी वासुदेव बरालले जंगल सफारीको प्रशस्त सम्भावना भए पनि आरक्षले त्यस्ता काममा अप्ठेरो पार्ने काम गरेको आरोप लगाउनुभयो । कोशीटप्पुमा आउने पर्यटकलाई के देखाउने र के को लागि ल्याउने भन्ने स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने समेत व्यवसायीको माग छ । 

उनीहरुले कोशी टप्पुमा भएको अर्ना चितवन निकुञ्जमा पठाएर सरकारले कोशी टप्पुको गरिमा नै मेटाएको आरोप लगाएका छन् । कोशी टप्पु अर्नाको एक मात्र बासस्थान हो भनेर पहिचान बनाएकोमा सरकारले चिवनमा अर्ना पठाएको तर त्यहाँको गैँडा र बाघ कोशी टप्पुमा नपठाएको स्थानीयको गुनासो छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया