इण्डियन आइडलबाट फेरि 'निकालिए' अनु मलिक !

 मंसिर ६, २०७६ शुक्रबार १२:१७:१९ | एजेन्सी
unn.prixa.net

अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट हटाइएको छ । इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको चर्को आलोचना भइरहेको थियो ।

अनु मलिकमाथि कैयौँ महिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो ।

इण्डिया टुडेको एक रिपोर्टअनुसार अनु मलिक अब इन्डियन आइडल ११ बाट बाहिरिइसकेका छन् । उनको स्थानमा शोमा कसको आगमन हुनेछ भन्ने बारेमा अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन । अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

यस विषयमा मिडियासँग कुरा गर्दै अनु मलिकले आफू कुनै पनि किसिमको दबाबमा आएर नभई आफ्नो स्वेच्छाले शोबाट बाहिरिएको बताएका छन् । उनले भने, ‘मैले स्वेच्छाले यो निर्णय लिएको हुँ । म यस शोबाट तीन हप्ताको बिदा लिएर जाँदैछु र अब म आफ्नो नाममा लागेको दाग हटाएरै फर्कनेछु ।’

भारतीय गायिका सोना मोहापात्रा र नेहा भसीनले अनु मलिक इण्डियन आइडल–११ को निर्णायक बनेलगत्तै आपत्ति जनाएका थिए । साथै सोना मोहा पात्राले महिला एवं बाल विकास मन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकलाई निर्णायकको पदबाट हटाउन माग गरेकी थिइन् ।

 

यसअघि सन् २०१८ मा गायिका सोना मोहापात्रा, नेहा भसीन र श्वेता पण्डितलगायत कैयौँ महिलाहरुले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए । त्यसपश्चात अनु मलिकलाई इण्डियन आइडल शोबाट हटाइएको थियो । त्यसको एक वर्ष नबित्दै  फेरि त्यही ११औं सिजनमा तीनै अनु मलिकलाई निर्णायक बनाएर ल्याइयो । मलिकलाई शोमा ल्याइएपछि सोना, नेहा र श्वेताले सामाजिक सञ्जालमार्फत चर्को विरोध गरेका थिए ।

चर्को आलोचनाबीच अहिले इण्डियन आइडल–११ बाट अनु मलिकलाई हटाइएपछि गायिका सोना मोहापात्राले सामाजिक सञ्जालमार्फत मिडिया तथा आफ्ना समर्थकहरुलाई धन्यवाद दिएकी छिन् । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया