महाराष्ट्रमा सत्ताको रस्साकस्सी : अजित पवार फर्केलान् त एनसीपी ?

 मंसिर ७, २०७६ शनिबार २०:२४:४६ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्र राज्यमा शुक्रबार राति नाटकीय राजनीतिक घटनाक्रमको विकास भयो । नेसनिस्ट कांग्रेस पार्टी (एनसीपी) ले बीजेपीलाई सरकार बनाउन समर्थन दिएपछि भारतीय जनता पार्टी (बीजेपी) विधायक दलका नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्री पदको सपथ लिए । 

एनसीपीका नेता अजित पवारले पनि उप मुख्यमन्त्रीको रुपमा सपथ लिएपछि महाराष्ट्रको राजनीतिमा रातारात हलचल आएको थियो । शुक्रबार मात्रै एनसीपी र कांग्रेसले शिव सेनाका नेता उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । एनसीपीका वरिष्ठ नेता शरद पवारले नै यसबारेमा जानकारी दिएका थिए । 

शनिबार बिहान शिव सेना, कांग्रेस र एनसीपीबीच सरकार सञ्चालन गर्न केही साझा कार्यक्रमका बारेमा छलफल हुने तय भैरहँदा शुक्रबार राति मुम्बईको राजभवनमा फडवणीस र अजित पवारले शपथ लिए । 

नसोचेको राजनीतिक घटनाक्रम घटेपछि अहिले मुख्यरुपमा बीजेपी एकातिर, एनसीपी र शिव सेना अर्काेतिर भएका छन् । दुवै समूह आफूले नै सरकार बनाउने भन्दै एकअर्काविरुद्ध खनिएका छन् । साथै एनसीपी अजित पवारलाई फर्काउन लागिपरेकाे छ ।

एनसीपीले दल-बदल कानुनकाे पनि सहयाेग लिने देखिएकाे छ । एनसीपीसँग ५४ जना विधायक छन् । यदि अजित पवारले ३६ विधायकको समर्थन हासिल गरेमा दल–बदल (पार्टी बदल्ने) कानुन उनीमाथि लागू हुने छैन । उनले ३६ विधायकको समर्थन नपाउँदा उनको सदस्यता खारेज हुनसक्छ । 

पत्रकार सम्मेलनमा शरद पवारले अजित पवारसँग मात्र १० देखि ११ जना विधायक रहेको दावी गरेका छन् । 

के हो दल–बदल कानुन ?

दल–बदल कानुन सन् १९८५ मार्च १ मा अस्तित्वमा आएको थियो । जसका कारण आफ्नो सुविधाको हिसाबले पार्टी फेर्ने विधायक र सांसदमाथि लगाम लगाउन सकियोस् । 

सन् १९८५ अघि यो कानुन अस्तित्वमा थिएन । त्यस समय ‘ आए राम, गाए राम’ भनाइ निकै चर्चित थियो । सन् १९६७ मा हरियाणाका एक विधायक गया लालले एक दिनमा तीन पटकसम्म पार्टी फेरेका थिए । 

महाराष्ट्रमा स्थिर सरकार दिन्छौँ : फडवणीस 

महाराष्ट्रमा देवेन्द्र फडवणीसले मुख्यमन्त्रीको सपथ लिएपछि उनी भाजपाको कार्यालयमा पुगेका थिए । उनले भने, ‘महाराष्ट्रमा स्थिर र मजबुत सरकार दिन्छौँ, मोदी छन् त सबै सम्भव छ ।’

विधायक हामीसँग छन्, सरकार हामी नै बनाउँछौँ : शरद पवार

नेसनिस्ट कांग्रेस पार्टीका प्रमुख शरद पवारले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रश्न उठाएका छन् । उनले फडवणीस र उपप्रधानमन्त्रीको सपथ लिने भतिज अजित पवारको पनि आलोचना गरेका छन् । 

उनले शरद पवार अचानक उपमुख्यमन्त्री बन्नुको पछाडि एनसीपीको कुनै सम्बन्ध नभएको प्रस्ट पारेका छन् । 

‘हामी सरकार बनाउन सक्छौँ, यसमा कुनै दोधारको अवस्था छैन । सरकार बनाउँछौँ, संख्या हामीसँग छ । फडणवीसले बहुमत साबित गर्न सक्ने छैनन्’, उनले भने । 

त्यस्तै शिव सेना प्रमुख उद्धव ठाकरेले बीजेपीलाई निसाना बनाउँदै भने, ‘हामी जे गर्छौँ, दिउँसो उज्यालोमा गर्छौँ । उनीहरु मानिसहरु छुट्याउने काम गर्छन्, हामी जोड्छौँ ।’

एनसीपी, शिव सेना र कांग्रेसले फडवणीसको सपथ ग्रहण कानुन विपरीत भएको भन्दै सर्वाेच्च अदालतमा निवेदन दिएका छन् । एनसीपीको बैठकपछि अजित पवारमाथि के कारबाही गर्ने भन्नेबारेमा टुंगो लाग्नेछ । 

फडवणीसलाई बहुमत साबित गर्न आउँदो नोभेम्बर ३० सम्मको समयसीमा रहेको छ । 

२८८ सिट रहेको महाराष्ट्र विधानसभाको चुनावमा बीजेपीले १०५ सिटमा जित हात पारेको थियो । एनसीपीले भने ५४ सिटमा जित हात पारेको थियो । शिव सेनाले ५६ सिटमा जित हात पार्दा कांग्रेसले ४४ सिट जितेको थियो । शिव सेना बीजेपीसँग गठबन्धन बनाएर चुनाव लडेको थियो । त्यस्तै कांग्रेस र एनसीपी पनि गठबन्धन बनाए चुनावमा गएका थिए । महाराष्ट्रमा सरकार बनाउन १४४ सिट आवश्यक पर्दछ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया