प्रदेश ७ मा पौने ४ अर्ब विकासे बजेट फ्रिज

 साउन २, २०७५ बुधबार १६:४२:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी – विकास निर्माणका योजना निर्माणमा प्रगति हुन नसक्दा प्रदेश नम्बर ७ मा झण्डै तीन अर्ब ७५ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७४/७५ का लागि प्रदेश नम्बर ७ को कुल पूँजीगत बजेट २० अर्ब ४४ करोड ७४ लाख रहेकोमा १६ अर्ब ७० करोड ४० लाख मात्र खर्च भएको छ ।

कुल विकास बजेट मध्ये ३ अर्ब ७४ करोड ३४ लाख अर्थात १८ प्रतिशत बजेट फ्रिज भएको हो । सबैभन्दा बढी विकास बजेट रहेको कैलाली र कञ्चनपुरमा मात्रै डेढ अर्ब बढी बजेट फ्रिज भएको छ । प्रदेशमै सबैभन्दा बढी विकास बजेट रहेका कैलाली र कञ्चनपुरले मात्र फ्रिज बजेटको झन्डै आधा हिस्सा ओगटेको छ ।

६ अर्ब १४ करोड कुल बजेट रहेको कैलालीमा ५ अर्ब २६ करोड खर्च हुदा ८८ करोड ८३ लाख र ४ अर्ब ९५ करोड कुल बजेट रहेको कञ्चनपुरमा ४ अर्ब २६ करोड खर्च हुँदा ६८ करोड ५८ लाख बजेट गरी १ अर्ब ५६ करोड फ्रिज हुन पुगेको छ । 

कैलालीमा सबैभन्दा बढी मोहनापुल अत्तरिया सडक योजनाको २३ करोड र क्षेत्रीय शहरी विकास आयोजनाको २१ करोड बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

ठूला विकास निर्माणका योजनामा उल्लेख्य प्रगति हुन नसक्दा आशा गरे अनुुसार पूँजीगत बजेट खर्च हुन नसकेको हो । तराईका जिल्लामा अर्बौँ रकम फ्रिज हुँदा पहाडी जिल्लामा पनि पूँजीगत बजेट खर्चको अवस्था उत्साजनक छैन् ।

यहाँका ७ पहाडी जिल्ला मध्ये सबैभन्दा बढी २ अर्ब २३ करोड १५ लाख विकास बजेट रहेको बैतडीमा ८३ प्रतिशत अर्थात १ अर्ब ८५ करोड ५३ लाख खर्च हुँदा ३७ करोड ६३ लाख रुपैयाँ फ्रिज हुन पुगेको छ ।  

त्यस्तै २ अर्ब २ करोड ४४ लाख बजेट रहेको डोटीमा १ अर्ब ६४ करोड ४७ लाख अर्थात ८१ प्रतिशत, १ अर्ब ३७ करोड १२ लाख बजेट रहेको अछाममा ९२ करोड ८७ लाख अर्थात ६७ प्रतिशत बजेट मात्र खर्च भएको छ । 

यस्तै दार्चुलामा १ अर्ब २३ करोड २४ लाख बजेट रहेकोमा १ अर्ब १४ करोड ५० लाख अर्थात ९२ प्रतिशत, ६४ करोड ६८ लाख बजेट रहेको डडेल्धुरामा ५५ करोड ९३ लाख अर्थात ८६ प्रतिशत बजेट खर्च भएको छ भने ८३ करोड बजेट रहेको बझाङमा ५९ करोड अर्थात ८२ प्रतिशत र ६० करोड बजेट रहेको बाजुरामा ४४ करोड मात्र खर्च भएको छ । 

यहाँका ७ पहाडी जिल्लाबाट मात्र २ अर्ब १८ करोड बजेट फ्रिज हुन पुगेको छ । पहाडी जिल्लामा पनि पूँजीगत खर्चको प्रगतिका बाधक भौतिक पूर्वाधारका योजना नै देखिएको छ ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया