नेपाल एअरलाइन्सका सबै विमानमा भ्रमण वर्षको लोगो: राति ८ बजेसम्म टिकट बिक्री गरिने

 मंसिर ८, २०७६ आइतबार १५:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल वायुसेवा निगमले पनि सहयोग गर्ने भएको छ । निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ पुर्‍याउन विभिन्न प्रवर्द्धनात्मक काम गर्ने निर्णय गरेको हो ।

निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सबै गाडीमा नेपाल भ्रमण वर्ष २०२० का लोगोहरु अंकित गर्न र सम्बन्धित विभागहरुलाई निर्णय तत्काल लागू गर्न समितिको बैठकले निर्देशन दिएको छ ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनुका साथै देशको परिचयलाई थप सुदृढ बनाउन विज्ञसहितको डिजिटल मिडिया एवम् सामग्री बनाएर पर्यटक आकर्षित गर्ने कार्यनीति बनाइएको पनि निगमले जनाएको छ ।

 

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवर्द्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडियाबाट फेसबूक, ट्विटर, इन्स्टाग्राम र यूट्युबमा पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ ।

निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयको बिक्री कक्ष रातको ८ बजेसम्म खुला राख्ने भएको छ ।

यस्तै काठमाण्डौका होटल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशवाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने निगमले जनाएको छ ।

भ्रमण वर्ष २०२० लक्षित निगमले थप कार्यक्रमहरु बनाउन पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया-पर्यटक सहजीकरणका लागि एक उप–समिति निर्माण गरी पाक्षिक प्रगति मूल्यांकन गरी थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया