जनकपुरधाममा रहेकाे दक्षिण एसियाली खेलकुद आयाेजना स्थल तयारी अन्तिम चरणमा

संघ र प्रदेश दुवै सरकारले बेवास्ता गरेको आरोप

 मंसिर ८, २०७६ आइतबार १५:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - उपत्यका बाहिर पहिलो पटक जनकपुरधाममा पनि हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगेको छ ।

आउदो मंसिर १५ गतेदेखि नेपालमा हुन लागेको साग प्रतियोगिताका केही खेलहरु जनकपुरधाममा २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछन् । जसका लागि खेल हुने स्थलहरुमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु अन्तिम चरणमा पुगेका छन् ।

आठौँ साग पछि नेपालमा दोश्रो पटक भइरहेको १३ औँ सागमा काठमाण्डौ बाहेक उपत्यका बाहिर  ललितपुर, पोखरा र जनकपुरधाममा समेत प्रतियोगिता हुन लागेको हो । जसमध्ये जनकपुरधाममा कबड्डी र कुश्ती खेलका प्रतियोगिताहरु हुनेछन् ।

यसैकाे तयारीका लागि जिल्ला खेलकुद विकास समितिका खेलाडीहरु अहोरात्र खटेका छन् ।

जनकपुरधाममा पहिलो पटक सात देश सम्मिलित साग प्रतियोगिता हुन लागेकोले यो अवसरलाई राम्ररी प्रयोग गर्न समिति दिनरात खटेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताउनु भयो ।

 

उहाँका अनुसार यहाँ कबड्डी र कुश्ती दुई खेल बाहेक अन्य खेलहरु पनि आयोजना गरिने योजना रहेको तर राष्ट्रिय खेलकुद परिषदले भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कबड्डी र कुश्ती मात्र खेलाउने निर्णय गरेको हो । ती खेलहरु जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा आयोजना हुनेछन् ।

प्रतियोगिताका लागि कभर्ड हलको मर्मत सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल ढोका निर्माण, स्टेज, भीआइपी कक्षको मर्मत सम्भारलगायतका कार्यहरु ८० प्रतिशत भन्दा बढी सकिएको अध्यक्ष चौधरीको भनाइ छ । मंसिर १० गतेसम्म मर्मत सम्भारका सम्पूर्ण तयारी पुरा भइसक्ने उहाँको दावी छ ।

संघ र प्रदेश दुवै सरकारको बेवास्ता

जनकपुरधाममा पहिलो पटक हुन गइरहेको साग प्रतियोगिताले यहाँका स्थानीय र खेलाडीमा निकै उत्साह जगाएकाे छ । स्थानीयले यसलाई अवसरका रुपमा लिएका छन् । तर यसमा प्रदेश र संघ सरकारले बेवास्ता गरेको अध्यक्ष चौधरीले गुनासोकाे गुनासाे छ ।

उहाँले भन्नुभयो, ‘सागकाे तयारीका लागि ५६ लाख रुपैयाँकाे इस्टिमेट राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुद मन्त्रालयलाई पठाएकोमा २० लाख रुपैयाँ उपलब्ध गरायो, प्रदेश सरकारलाई आग्रह गर्दा पनि कुनै चासो नलिएकोले निकै समस्या भएको छ ।’

७ देशका खेलाडीहरु सहभागी हुने याे प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा ठूलाे टेवा पुग्ने आशा गरिएकाे छ । तर यसको तयारीका लागि आवश्यक बजेट उपलब्ध गराउन संघ र प्रदेश सरकारले बेवास्ता गरेकोले दुख लागेको अध्यक्ष चौधरीले बताउनुभयाे ।

जनकपुरधामप्रति संघ सरकार अनुदार भएपछि प्रदेश सरकारका समाजिक विकास मन्त्री सँग सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि कुनै चासो नलिएको आरोप उहाँले समेत लगाउनु भयो । दुवै सरकारमध्ये कसैले सहयोग नगरेपछि बाँकी रहेको ३६ लाख रुपैयाँ जुटाउन विभिन्न संघ संस्थासँग सहयोग मागिरहेकाे उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया