भ्रष्टाचार लुकाउन नयाँ व्यवस्थापन समिति बनाएकाे भन्दै भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त

 मंसिर ८, २०७६ आइतबार १९:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालको नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गर्दै अस्पतालमा पदबहाली गर्न पठाएपछि अस्पताल तनावग्रस्त बनेको छ । 

नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टरलाई पदबहाली गर्न नदिँदा भएको विवाद झडपमा परिणत हुँदा उपचारमा आएका बिरामी र बिरामी कुरुवासमेत भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो  । 

अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डा.दिपेश धिताल, डेपुटी मेडिकल डाइरेक्टरमा डा. अजय झा तथा डा. उत्सवमान श्रेष्ठलार्ई नियुक्त गरेको थियो । 

अहिले अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हालिरहनु भएका डा. ऋषिकेश नारायण श्रेष्ठको नाम प्लेट हटाएर नयाँ नाम प्लेट राखेर पदबहाली गर्ने क्रममा औपचारिक कार्यक्रम भैरहँदा कर्मचारी टोलीले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै अस्पतालमा नाराबाजी गरेका थिए । 

अवस्था सामान्य नभएपछि अस्पतलाका पुरानो व्यवस्थापन समितिका कोषाध्यक्ष केपी ताम्राकार, महासचिव विमल होडा, सचिव महेश श्रेष्ठ, नयाँ कार्यकारी निर्देशक शिलाकार, नयाँ मेडिकल डाइरेक्टर डा. धिताल लगायतलाई अस्पतालको कार्यक्रम हलमै दुई घण्टासम्म बन्द गरिएको थियो । पछि प्रहरीको सहयोगमा उनीहरुलाई बाहिर निकालिएको थियो । 

प्रहरीले उनीहरुलाई बाहिर निकालेर सुरक्षित ठाउँतर्फ लैजाने क्रममा अस्पताल प्राङ्गणमै उनीहरुमाथि आक्रमण भएको थियो । आक्रमणको क्रममा महासचिव होडाको हातबाट माइन्युट समेत खोसेर च्यातिएको र नवनियुक्त कार्यकारी निर्देशक शिलाकारको बा १२ च ४८६ नम्बरको कार तोडफोड गरिएको छ । 

अस्पताल कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले भन्नुभयो, ‘पुरानो व्यवस्थापन समितिले चरम भ्रष्टाचार गरेपछि अस्पताल जोगाउन कर्मचारी एक भएका हौँ, भ्रष्टाचारको छानबिन गरी सत्यतथ्य बाहिर नल्याइ नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्ति गर्ने नाटक गरेपछि विरोध गर्नुपरेको हो, भ्रष्टाचारको छानबिन नभएसम्म पूर्वव्यवस्थापन समितिका भ्रष्टाचारको अभियोग लागेकाहरुलाई अस्पताल प्रवेश निषेध गरेका छौँ ।’

अस्पतालका रेडियोथेरापीका कन्सल्टेण्ड डा. विद्यापति झाले आफू २०५७ सालदेखि अस्पतालमा काम गर्दै आएको बताउँदै पुरानो व्यवस्थापन समितिलाई भ्रष्टाचार नगर्न पटक पटक सचेत गर्दा पनि कर्मचारीलाई बेवास्ता गर्दै करोडौँ भ्रष्टाचार भएको र अस्पताल जोगाउनु आवश्यक रहेको बताउनुभयो । 

पुरानो व्यवस्थापन समितिलाई खारेज गर्दै भक्तपुर नगरपालिकाले अस्पतालमा नगर प्रमुख सुनील प्रजापतिको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन गरी अस्प्ताल सञ्चालन गर्दै आएको छ । 

यस बारेमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै हाललाई यथा अवस्था मै सञ्चालन गर्न आदेश दिए पनि रिटको किनारा भने लाग्न नसक्दा थप अन्यौल भएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया