सरकारको राष्ट्रवाद कालापानीमा टुंगियो: कांग्रेस सभापति देउवा

 मंसिर ८, २०७६ आइतबार १९:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ सरकारको राष्ट्रवाद कालापानीमा आएर टुंगिएको बताउनुभएको छ ।

नेपाली काँग्रेसले शनिबार बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टको चर्को भाषण र बोलीको राष्ट्रवादको हविगत अहिले देखिएकाे बताउनुभयो ।

पोखराको चुनावी सभामा भारतले प्रधानमन्त्री केपी ओलीको सहमतिमै नयाँ नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका सभापति देउवा यहाँको सभामा केही नरम रुपमा प्रस्तुत हुनुभयो ।

‘भारतले सार्वजनिक गरेको नयाँ नक्सामा देशका भूभाग पर्दा पनि सरकारले यथेष्ट पहल गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यो सरकार हरेक हिसाबले असफल भइसक्यो ।’

राष्ट्र र राष्ट्रियताका सवालमा वर्तमान सरकार उदासिन देखिएको सभापति देउवाको आरोप थियो । 

देशको दुई तिहाइको सरकार विकास र समृद्धिका लागि नभई लुट्नमै लागि परेको र जनतालाई साथभन्दा बढी दुःख दिने गरेको उहाँको आराेप थियो ।

कार्यक्रममा सभापति देउवाले अब देशको विकास र हरेक समस्याको निकास दिनका लागि नेपाली कांग्रेसलाई जनताको साथ आवश्यक रहेको भन्दै जनतालाई उपचुनावमा मत दिन आह्वान गर्नुभयो । 

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताउनुभयो । ‘सरकार राम्रा भन्दा पनि नराम्रा काम गर्नमा उद्यत छ,’ नेता पौडेलले भन्नुभयो,‘यस्तै चालले अबको तीन वर्षमा देश खतरामा जाने संकेत देखिएको छ ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया