महाराष्ट्रमा बीजेपी सरकार ढल्ने सम्भावना !

 मंसिर १०, २०७६ मंगलबार १२:४९:१६ | एजेन्सी
unn.prixa.net

भारतीय सर्वोच्च अदालतले महाराष्ट्र विधानसभामा देवेन्द्र फडणवीस र अजित पवारलाई बुधबार बहुमत सिद्ध गर्न आदेश दिएको छ ।

सरकार गठनको मुद्दामा मंगलबार फैसला सुनाउँदै सर्वोच्च अदालतले फडणवीस पवारलाई बहुमत सिद्ध गर्न आदेश दिएको हो ।

अदालतले प्रोटेम स्पिकरको चुनावपछि फ्लोर टेस्टको कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । साथै मतदान पनि गोप्य नहुने भएको छ । विधानसभामा सांसद खरिदबिक्री हुने सम्भावनालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले मतदान प्रक्रियाको प्रत्यक्ष प्रसारण गर्न पनि आदेश दिएको छ ।

साथै अदालतले महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीलाई बुधबार राज्यका सबै निर्वाचित सांसदलाई सपथ ग्रहण गराउने वातावरण बनाउन पनि आदेश दिएको छ ।

पक्ष-विपक्षको तर्क

सर्वोच्च अदालतसमक्ष सोमबार पक्ष विपक्ष दुवैले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

कांग्रेस नेता तथा वरिष्ठ वकिल अभिषेक मनु सिंघवीले गैर भारतीय जनता पार्टीको तर्फबाट मत राखेका थिए । उनले ४८ जना राष्ट्रवादी कांग्रेस पार्टी(एनसीपी) का सांसदको समर्थनको पत्र देखाउँदै बीजेपीसँग कसरी ५४ जनाको समर्थन छ भन्दै प्रश्न गरेका थिए ।

त्यस्तै बीजेपीको तर्फबाट बहस गर्दै मुकुल रोहतगीले भने एनसीपीका ५४ सांसद अजित पवार र फडणवीसको साथमा रहेको बताएका थिए ।

तर सोमबार साँझ मुम्बईको होटल हयातमा कांग्रेस, एनसीपी र शिव सेनाका सांसदहरुको परेड गराइएको थियो । वि आर वान सिक्स्टी टू (हामी १६२ छौँ) भन्दै उनीहरुले मिडियासामु आफूसँग बहुमत भएको बताएका थिए । 

अब बुधबार विधानसभामै कोसँग कति सांसद छ भन्ने कुराको पुष्टि हुने भएको छ ।

अहिलेसम्म के-के भयो महाराष्ट्रमा ?

महाराष्ट्रमा गएको २१ अक्टोबरमा २८८ सिटका लागि विधानसभा चुनाव भएको थियो । 

अक्टोबर २४ मा आएको नतिजाअनुसार गठबन्धन बनाएर चुनाव लडेका बीजेपी र शिव सेनासँग स्पष्ट बहुमत रहेको थियो । तर दुई पार्टीबीच मुख्यमन्त्री पद र सत्ताको साझेदारीका विषयमा मतभेद उत्पन्न भएको थियो । त्यसपछि शिव सेनाले एनसीपी र कांग्रेससँग मिलेर सकार बनाउने कसरत गरेको थियो । तर राज्यपालले दिएको समयसीमाभित्र सरकार बनाउन नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको थियो ।

गएको शुक्रबार शिव सेना, एनसीपी र कांग्रेसबीच सरकार बनाउने सहमति भएको थियो । शनिबार बिहान तीन दलको गठबन्धनबाट शिव सेनाका नेता उद्धव ठाकरेले मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने तयारी पनि थियो ।

तर रातभरमा राजनीतिक घटनाक्रमले अर्कै रुप लियो । बिहान हुँदै गर्दा बीजेपीले एनसीपीका विधायक दलका नेता अजित पवारको समर्थनसहित पत्र राज्यपाललाई बुझायो । देवेन्द्र फडणवीसले मुख्यमन्त्री र अजित पवारले उपमुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरे । तर एनसीपीका अध्यक्ष शरद पवारले तत्कालै पार्टीको बैठक बोलाएर अजित पवारको निर्णय व्यक्तिगत भएको बताए ।

यसैबीच अजित पवारलाई उपमुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर पार्टीमा फर्काउने प्रयास भैरहेको छ । पछिल्लो अवस्था हेर्दा बीजेपीलाई बुधबार विधानसभामा बहुमत प्रमाणित गर्न निकै कठिन हुनेछ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै महाराष्ट्रमा फडणवीस सरकार ढल्ने सम्भावना रहेकाे छ ।

२८८ सिट रहेको महाराष्ट्र विधानसभाको चुनावमा बीजेपीले १०५ सिटमा जित हात पारेको थियो । एनसीपीले भने ५४ सिटमा जित हात पारेको थियो । शिव सेनाले ५६ सिटमा जित हात पार्दा कांग्रेसले ४४ सिट जितेको थियो ।

शिव सेना बीजेपीसँग गठबन्धन बनाएर चुनाव लडेको थियो । त्यस्तै कांग्रेस र एनसीपी पनि गठबन्धन बनाएर चुनावमा गएका थिए । महाराष्ट्रमा सरकार बनाउन १४४ सिट आवश्यक पर्दछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया