औषधिले भन्दा बढी आत्मविश्वासले रोगलाई जित्दै प्रधानमन्त्री ओली

 मंसिर १२, २०७६ बिहिबार १३:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मिर्गौलाको नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अरुबेला जस्तै सोमबार पनि काममै व्यस्त हुनुहुन्थ्यो । त्यो दिन सिंहदरबारमा सरकारको चौथो चौमासिक बैठक थियो ।

बैठकमा चार घण्टा भन्दा धेरै बसेर उहाँले मन्त्री, सचिव र अरु विशिष्ट कर्मचारीका कुरा मात्र सुन्नु भएन, मन्त्री र सचिवहरुलाई परिणाममुखी काम गर्न निर्देशन पनि दिनुभयो । त्यसको अघिल्लो दिन आइतबार मात्रै उहाँको चौथो डायलाइसिस गरिएको थियो ।

सिंहदरबारको बैठक सकेर साँझ सरकारी निवास बालुवाटार पुग्दा स्वास्थ्य अलिअलि असहज भए पनि खासै वास्ता गर्नुभएन । सधैँझैँ अध्ययनमा लाग्नुभयो । राति अबेर सुत्नुभयो । रात छिप्पिँदै जाँदा पेट दुख्न थाल्यो । पेट बढी नै दुख्न थालेपछि निजी डाक्टर दिव्यासिंह शाहलाई खबर गर्नुभयो ।

डा. शाह मंगलबार बिहानै बालुवाटार पुग्नुभयो । मिर्गौलाकोभन्दा फरक समस्या देखेपछि उहाँले डा. अरुण सायमिलगायत अरु विशेषज्ञ डाक्टरसँग सल्लाह गर्नुभयो । त्यसपछि प्रधानमन्त्रीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टर लगियो । स्वास्थ्य जाँच गर्दा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको थाहा भयो । लगत्तै डाक्टरहरुले अपरेसनको तयारी गरे । दिउँसो १ बजेसम्ममा उहाँको अपरेसन सकियो ।

पहिले एपेन्डिसाइटिस भएको अनुमान गरिए पनि एपेन्डिक्सको संक्रमण फैलिएर आन्द्रासम्म पुगेको थाहा भयो । जसलाई मेडिकल भाषामा पेरिटोनाइटिस भनिन्छ । यस्तो समस्या हुँदा अपरेसनअघि र अपरेसनपछि पनि संक्रमण फैलिने जोखिम हुने डाक्टरहरु बताउँछन् ।

प्रधानमन्त्रीलाई अपरेसन गरेपछि अहिले त्यो जोखिम कम भएको र संक्रमण फैलिन नदिने प्रयास भैरहेको डाक्टरले बताएका छन् । अर्थात प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार त भैरहेको छ, तर जोखिम पुरै हटिसकेको छैन । उहाँलाई केही दिन अस्पतालको आईसीयूमै राखेर उपचार गर्ने तयारी छ ।

औषधिभन्दा आत्मविश्वास बलियो

प्रधानमन्त्री फेरि अस्वस्थ भएको खबर थाहा पाउनेबित्तिकै उहाँको स्वास्थ्य अवस्थाबारे फेरि टीकाटिप्पणी बढेको छ । मिर्गौलाको समस्या बल्झिरहेको बेला फेरि पेटको शल्यक्रिया गर्नु परेपछि के हुने हो भन्ने चिन्ता बढेको छ ।

तर प्रधानमन्त्री ओली अहिले मात्रै बिरामी हुनुभएको होइन । जेल पर्नुअघि र जेलमै पनि उहाँलाई विभिन्न रोगले सताइरह्यो । पहिले क्षयरोग थियो, पछि मिर्गाैलामा समस्या देखियो । उहाँसँग उठबस र संगत गर्नेहरुका अनुसार चार दशकभन्दा बढी भयो, ओली कहिल्यै पूर्ण रुपमा स्वस्थ हुनुहुन्न । कहिले के, कहिले के समस्याबाट पीडित हुनुहुन्छ ।

आत्मबल र दृढ इच्छाशक्तिकै कारण प्रधानमन्त्री ओली बिरामी हुँदा पनि सक्रिय भैरहनुभएको छ ।

२०७२ सालमा तत्कालीन एमालेको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिंदै गर्दा पनि उहाँलाई बिरामी मान्छेले पार्टी हाँक्न सक्दैन भने । तर अरुको कुरालाई वास्ता नगरी अघि बढेका ओली पार्टी अध्यक्षमा चुनिनुभयो ।

पार्टी अध्यक्षमा चुनिएलगत्तै उहाँ पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । त्यतिबेला पनि उहाँ पूर्ण स्वस्थ हुनुहुन्न थियो । तर ९ महिना सरकारमा रहँदा उहाँले त्यसअघिका प्रधानमन्त्रीले भन्दा बढी काम गरेर देखाइदिनुभयो । भारतले लगाएको नाकाबन्दीलाई डटेर सामना गर्नुभयो । उहाँकै पहलमा भारतले नाकाबन्दी हटायो । भारतसँग मात्र सीमित आतेजाते र आयात निर्यात गर्ने बाटो चीनसम्म पनि पुर्‍याउनुभयो ।

दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा ओलीको स्वास्थ्य समस्या फेरि बल्झिएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला निष्कृय बन्दै गएपछि गएको साउन र भदौमा उहाँको सिंगापुरमा उपचार भयो । त्यसपछि पनि उहाँ अस्पताल धाइरहनुभएको छ ।

एक महिना अघिदेखि भने उहाँको मिर्गौलाले काम गर्नै छाड्यो । त्यसपछि फेरि उहाँको स्वास्थ्य अवस्थाबारे टीकाटिप्पणी सुरु भयो । कसैले भने प्रधानमन्त्रीले अब काम गर्न सक्नुहुन्न, आराम गरेर बसे राम्रो । तर ओली झन् काममा सक्रिय हुनुभयो ।

बितेको एक महिनामा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र मन्त्रालय हेरफेर गर्नेदेखि अरु महत्वपूर्ण राजनीतिक निर्णय, छलफल र परामर्श गर्नुभएको छ । भारतले गरेको सीमा अतिक्रमणको बिरोधमा राष्ट्रिय सहमति जुटाउने काम पनि यहीबीचमा भएको छ ।

सरकारको काम प्रभावकारी भएन भन्ने जनगुनासोको जवाफस्वरुप उहाँले मन्त्रिपरिषदको पुनर्गठन गरी मन्त्रीहरुलाई जनभावनाअनुसार काम गर्न दवाव बढाउनु भएको छ । साथमा सभा, सम्मेलन र कार्यक्रममा पनि उहाँको बाक्लै सहभागिता देखिन्छ । मंगलबार शल्यक्रिया गर्नुअघिसम्म पनि उहाँ काममै व्यस्त हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको यो सक्रियताबाटै थाहा हुन्छ, स्वास्थ्यले साथ नदिए पनि प्रधानमन्त्री आत्मविश्वासका साथ काम गरिरहनुभएको छ । प्रधानमन्त्रीको हैसियतमा जे काम गर्नुपर्ने हो, त्यसलाई निरन्तरता दिन रोगलाई उहाँले बाधक ठान्नु भएको छैन । लामो समयदेखि बिरामी उहाँलाई औषधिले भन्दा आत्मविश्वासले साथ दिएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओली केहीबेर हल्का हिँड्नु भएकाे छ । त्यस्तै उहाँले जाउलाे खान सुरु गर्नु भएकाे छ । अस्पतालकाे ओछ्यानबाटै प्रधानमन्त्री ओलीले ट्विटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनु भएकाे छ ।

बिरामी हुँदा पनि दृढ इच्छाशक्तिकै कारण उहाँले अहिलेसम्म रोगलाई जित्दै आउनुभएको छ । अहिले अस्पतालको आईसीयूमा सुतिरहेका प्रधानमन्त्री फेरि यही आत्मविश्वासबाट छिट्टै तँग्रिनुहुन्छ र काममा फर्कनुहुन्छ भन्ने आम नागरिकको विश्वास छ ।

त्यसो त प्रधानमन्त्री ओलीबाट नागरिकले धेरै आश गरेका छन् । देशलाई समृद्ध बनाउने सपना पूरा गर्नै बाँकी छ । सबैभन्दा पहिले मिचिएको नेपाली भूमि फिर्ता गर्न भारतसँगको कुटनीतिक वार्तालाई टुंगोमा पुर्‍याउनुपर्नेछ ।

त्यसपछि नागरिकका दैनिक समस्या समाधानसँगै विकास निर्माणका अरु कामलाई सँगसँगै अघि बढाउनुपर्नेछ । यति काम प्रधानमन्त्री ओलीकै पालामा, उहाँकै नेतृत्वमा सफल होओस् भन्ने नागरिकको चाहना हो । आशा गरौं, रोगलाई आत्मविश्वाले परास्त गर्दै आएका प्रधानमन्त्री छिटै अस्पतालबाट बालुवाटार हुँदै सिंहदरबार पुग्नुहुन्छ र फेरि पनि काममा जुट्नुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया