मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा एक युवकको कुटपिट गरी हत्या

 मंसिर १३, २०७६ शुक्रबार ८:५६:३० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा कञ्चनपुरमा एक युवकको कुटपिट गरी हत्या भएको छ । 

महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको कुटपिट गरी हत्या भएको हो । 

महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चार जनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन् ।

पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ ।

पन्तमाथि कुटपिट गर्ने चार जनासहित एउटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार घरबाट बुवा विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका दिपकलाई घर फर्किने क्रममा मोटरसाइकल रोकेर चार जनाको समूहले कुटपिट गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका पन्तको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया