कोप २५ : जलवायु परिवर्तनबारे छलफल स्पेनको म्याड्रिडमा सुरु

 मंसिर १७, २०७६ मंगलबार ९:२७:३० | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (कोप२५) स्पेनको राजधानी म्याड्रिडमा औपचारिक रूपमा सोमबारदेखि सुरू भएको छ ।

जलवायु परिवर्तन र यसका असरबारे सम्बोधनका साथ औपचारिक रूपमा सुरू भएको यस सम्मेलनमा पनि पेरिस सम्मेलनले उठाएका विषयलाई मुख्य विषयका रूपमा उठाइने सम्मेलनमा भाग लिन स्पेन पुगेका विश्व नेताहरूले बताएका छन् ।

जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी)का अध्यक्ष होसुङ लीले जलवायु नियन्त्रण प्रयासका लागि भएका वर्तमान् प्रयासले पृथ्वीको तापमान वृद्धिबाट आउनसक्ने भयावह स्थितिलाई सम्बोधन गर्न असम्भव रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यदि हामीले जे गरिरहेका छौँ यसैलाई निरन्तरता दिने हो भने पृथ्वीको तापमान वृद्धिलाई जुनरूपमा नियन्त्रणमा राख्नुपर्ने हो यो सम्भव नभएको र यसले समस्त मानवजगत्ले भयावह स्थितिको सामना गर्नुपर्ने र यसले हाम्रो अस्थित्वमाथि नै खतरा ल्याउनसक्नेछ ।’

‘हामीले जलवायु परिवर्तनको समस्यालाई सम्बोधनका लागि प्रशस्त कार्य त गर्न सकेका छैनौँ र यो अवस्थालाई नियन्त्रणमा राख्नका लागि समस्याको निकटसम्म पनि पुग्न सकेका छैनौँ’ आइपीसीसी अध्यक्ष लीले भने ।

सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस भने, ‘विश्वलाई जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता र लचकताको जरूरी छ । पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि खनिज इन्धनको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ ।’ 

चिलीमा हुनेगरी तय भएको कोप२५ सम्मेलन त्यहाँको सामाजिक तथा राजनीतिक समस्याका कारण स्पेनले आयोजना गरेको हो ।

स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले सम्मेलनका सहभागीहरूलाई स्वागत गर्दै भने, ‘म्याड्रिड जलवायु परिवर्तन समस्याविरूद्धको लडाइँ लड्ने पहिलो राजधानी शहर हुनेछ । स्पेनी प्रधानमन्त्रीका रूपमा मैले यो प्रतिवद्धता व्यक्त गर्दछु ।’

सम्मेलन यही डिसेम्बर १३ सम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया